ताजा अपडेट »

लुम्बिनी प्रदेश स्तरीय ‘कोभिड वरियर अवार्ड’ प्रदान गरिने

सोमबार, १८ असोज २०७८

भैरहवा । २५ रुपैयाँमै (अन्नपूर्ण भोजन) पेटभरी खाना खुवाएर चर्चामा आएको भैरहवाको मायादेवी च्यारेटिवल फाउण्डेशनले लुम्बिनी प्रदेश स्तरीय कोभिड वरियर अवार्ड प्रदान गर्ने भएको छ । कोभिडको समयमा आफ्नो पेशा भन्दा माथि उठि कोभिड–१९ को विषम परिस्थितिमा विशेष योगदान गर्ने ब्यक्तिहरुलाई अवार्ड प्रदान गरिने फाउण्डेशनका संस्थापक रवि कुमार रौनियारले जानकारी दिए । ‘कोभिडको समयमा काम गर्ने सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सामाजिक ब्यक्तित्व लगाएतलाई अवार्ड दिने कार्यक्रम रहेको छ।’ रौनियारले भने ।

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले भैरहवास्थित लुम्बिनी प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रौनियारले प्रदेशभरीबाट १८ देखि२० जनालाई अवार्ड प्रदान गरिने जानकारी दिए । उनले यसको लागि लुम्बिनी प्रदेशमा रहेका प्रमुख जिल्ला अधिकारीहरुमार्फत बढीमा ३ जनाको नाम सिफारिस गर्न आग्रह गरिएको बताए । यसरी आएको नामबाट फाउण्डेशनले छनौट गरी असोज २३ गते अवार्ड प्रदान गर्ने उनले बताए ।

फाउण्डेशनको स्थापना दिवसकै अवसरमा कार्यक्रम गर्ने योजना भए पनि कोभिडको कारण सम्भव हुन नसकेको उनले बताए । साथै कार्यक्रममा फाउण्डेशनलाई सहयोग गर्ने ब्यक्तित्वलाई सम्मान गर्ने र अति विपन्न परिवारलाई आर्थिक सहयोग प्रदान गरिने रौनियारको भनाई छ । कोभिडको समयमा सबै नेपालीहरुले धैर्यता र एकताका साथ लडेर यसलाई पार गरेको बताउदै केही विशेष ब्यक्तित्वहरुको सम्मानको लागि मायादेवी च्यारेटिवल फाउण्डेशनले सम्मानको योजना ल्याएको उनले जनाए ।

साथै लकडाउनको कारण बन्द रहेको अन्नपूर्ण भोजनालय पनि दशैं लगत्तै सुचारु गर्ने योजना रहेको रौनियारले बताए । कार्यक्रममा बोल्दै लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले अहिले “कोभिड हिरो” जस्ता अवार्ड दिने होडबाजी चलेको अवश्थामा फाउण्डेशनले वास्तविक र सिमित ब्यक्तिलाई अवार्ड दिन सुझाव दिए ।