ताजा अपडेट »

विश्व आत्महत्या निवारण दिवस : डरलाग्दो गरी बढ्दै छ आत्महत्या दर

मंगलबार, २४ भदौ २०७६

भदौ २४,
काठमाण्डौं । हरेक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्व भरिनै विश्व आत्महत्या निवारण दिवस मनाइन्छ । सन् २००३ देखि आत्महत्या रोक्नको लागि विश्वव्यापी रुपमा प्रतिबद्धता र कार्यक्रमहरु आयोजन गर्ने गरेको हो । आत्महत्या गर्नुका पछाडि यही नै कारण हो भन्न सकिन्न । तर, पनि आत्महत्या गर्नुमा केही कारणले भने भूमिका खेल्दछ । ९० प्रतिशत मानिस आत्महत्या मानसिक रोगको कारणले गर्ने गर्दछन् । विभिन्न मानसिक रोगहरूमध्ये डिप्रेसनलाई आत्महत्या गर्न सघाउ पुर्‍याउने प्रमुख रोगको रूपमा मानिन्छ । यसका साथै बाइपोलार डिसअर्डर, स्किजोफेनियाजस्ता मानसिक रोगहरूले पनि आत्महत्या गर्न सघाउ पुर्‍याउँछ ।

मनोविश्लेषक वासु आचार्यका अनुसार जीवनमा आत्महत्या गर्ने सोच धेरैले गरेका हुन्छन् । जब उसले आत्महत्याको सोच राख्छ तब उसलाई परामर्शले पनि छुदैन् र उचित मौका र समयको प्रतिक्षामा हुन्छ । आचार्यका अनुसार यस्ता व्यक्ति आत्महत्या गर्नुपूर्व कसैको ऋण छ भने तिरिदिने, कसैसित झगडा परेको छ भने माफी माग्ने, कुनै घटना वा परिघटना भएमा त्यो सुल्झाउन थाल्दछन् ।

आत्माहत्याको मुख्य कारण भनेको दुःख हो । मानिसको जीवनबाट जब खुसी हराउँदै जान्छ तब उसले विक्लप र सजीलो उपाय आत्माहत्या देख्छ । आत्महत्या गर्नेहरू गरिबि, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक असफलताजस्ता कारणबाट मानिस आत्महत्या गरेको देखिन्छ । यो बाहेक आत्महत्या गराउन प्रेरित गर्ने कारणमा सामाजिक र आर्थिक क्षेत्रमा विचलन, लगातार उदासिपन, चिन्तन, छटपटी हुनु, लगातार धेरै दिनसम्म निन्द्रा नलाग्नु, दोधार मनस्थिति, हरेक कुरामा चाहँना घट्दै जानुले पनि मानिसलाई नैरास्यता बनाउँछ र उ आत्महत्याको सोचमा पुग्छ ।

कतिपय अनमेल विवाह, झै–झगडा, श्रीमान–श्रीमतीबीच बैमनस्यता, सासू–ससुराको टकस र प्रेम विछोडका कारण पनि मानिसले आत्महत्या गरेको पाइन्छ । युवा अवस्थाको लापरवाही, शिक्षाको ढिलाई र सँगसँगै पढेका साथीहरूको प्रगतिले पनि आत्मवल कम भएका मानिसलाई आत्महत्या गर्ने तर्फ उन्मुख पारेको हुन्छ ।आत्महत्या गरेका मानिसहरूको अध्ययन गर्दा हरेक क्षेत्रको असफलता र बेरोजगारीका कारण पनि धेरै युवायुवतीले आत्महत्या गरेको पाइएको छ ।

आत्महत्या गर्ने शैली
पुरुषले घरको सिलिङमा झुण्डिने र नदीमा हामफालेर आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ ।महिलाले भने धेरैजसोले हातको नसा काट्ने, निद्रा लाग्ने औषधि अधिक मात्रामा सेवन गरी आत्महत्याको प्रयास गर्ने गरेको पाइन्छ । कतिपयले झुण्डिएर आत्महत्या गर्ने गरेको पाइएको छ ।मानसिक रोगका साथसाथै मानिसको आफ्नै प्रयासबाट आत्महत्याको अवस्थासम्म पुग्ने गर्दछन् ।

रोकथाम कसरी गर्ने ?

आत्महत्यालाई न्यूनीकरण गर्न उचित परामर्श, मनोशारीरिक परामर्श र आवश्यक भएमा मनोचिकित्सकसँग सल्लाह लिन सकिन्छ । विशेष गरेर परिवारका सदस्यहरूले आत्महत्याको संकेत चिह्नलाई पहिचान गरेर उत्प्रेरणा दिँदै उनीहरूलाई समय धेरै दिनु आवश्यक हुन्छ । यसका साथै समयमा मनोविद्हरूसँग लगेर परामर्श लिने वातावरण तयार गरि दिनुपर्दछ । -लोकपथ