भाद्र २३,
ग्लोबल आवाज
बुटवल । किर्गिस्तानमा जारी नादेझ्दा कप अन्तर्गत सोमबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग २–० ले पराजित भएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको १४ औं मिनेटमा कप्तान निरु थापा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन् । मिडफिल्डमा बलका लागि जुध्ने क्रममा विपक्षी खेलाडीसँग ठोकिंदा उनी घाइते भएकी थिइन् । स्ट्रेचरमा मैदानबाहिर लगेपछि उनको स्थानमा मिडफिल्डर सरु लिम्बू मैदान प्रवेश गरिन् । आक्रमणमा केहि कमजोर देखिएको नेपालले केहि मौका पाएपनि डिफेन्सलाई तोड्न भने सकेन ।
पहिलो हाफको ३४ औं मिनेटमा उज्बेकिस्तानले अग्रता लिएको थियो । उज्बेकिस्तानको हाफबाट आएको लामो पासलाई नेपाली डिफेन्सले रोक्न नसक्दा उज्बेकिस्तानकी फरवार्डले गोल गर्दै अग्रता लिन सफल भइन् । उनको पहिलो प्रहार गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले वन भर्सेस वन स्थितिमा बचाएपनि रिबाउन्डमा आएको प्रहार खाली पोस्टमा गोल भएको थियो । इन्ज्युरी समयको तेस्रो मिनेटमा उज्बेकिस्तानकी खेलाडीको प्रहार क्रसबारमा लागेर फर्कंदा नेपाल भाग्यमानी भएको थियो । दोस्रो हाफको सुरुवातमै उज्बेकिस्तानले अग्रता दोब्बर पार्यो । नेपालका तीन खेलाडीलाई छक्याउँदै उज्बेकी खेलाडीले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले बचाउन सकिनन् । एन्जिलाले ७१ औं मिनेटमा राम्रो बचाउ गर्दै गोलअन्तर बढ्न दिइनन् ।
नेपालले अब फाइनल प्रवेशका लागि मंगलबार ताजिकिस्तानको सामना गर्नेछ । आजै हुने दोस्रो खेलमा किर्गिस्तान र ताजिकिस्तान भिड्नेछन् । उज्बेकिस्तानले लगातार दोस्रो जितसँगै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । हिजो भएको खेलमा उज्बेकिस्तानले ताजिकिस्तानलाई १२–० तथा नेपालले किर्गिस्तानलाई ८–२ ले पराजित गरेका थिए ।
प्रतिक्रिया