काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका बिच लगानी थप्न तथा व्यवसाय विस्तार गर्न ‘पर्ख र हेर’ को अवस्थामा रहेका उद्योगी व्यवसायीहरू अब नयाँ लगानी थप्न इच्छुक भएका छन् ।
औद्योगिक अवस्थितिका विषयमा गरिएको एक अध्ययनले ८३ प्रतिशत उद्योगीहरू नयाँ लगानीका लागि तयार भएको देखाएको हो । नेपाल उद्योग परिसंघ (सीएनआई)ले विभिन्न क्षेत्रगत उद्योगहरूमा गरेको अध्ययनले कोभिडको असर कम हुँदा र उद्योगी व्यवसायीको मनस्थिति पनि परिवर्तन भएकाले उनीहरू नयाँ लगानीका लागि तयार भएको देखाएको छ ।
परिसंघका अध्यक्ष विष्णु अग्रवालले कोभिडकै अवस्थामा पनि उद्योगी व्यवसायीहरूले लगानी गर्न इच्छा देखाएको बताए । थप लगानी गर्न उद्योगीहरू तयार भएको भन्दै उनले यसले औद्योगिक क्षेत्रमा अब सकारात्मक सुधार देखिने विश्वास व्यक्त गरे ।
सीएनआईले उद्योगको अवस्था, कोभिडको बीचमा उद्योगीहरू लगानीका लागि इच्छुक छन् वा अझै पनि पर्ख र हेरकै अवस्था हो भन्ने मनस्थिति बुझ्न पनि अध्ययन गरेको उनको भनाइ छ । परिसंघले गत आर्थिक वर्ष २०७७/७८ मा प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरी नेपाल उद्योग परिसंघले पहिलो औद्योगिक अवस्थिति प्रतिवेदन सार्वजनिक गरेको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
प्रतिक्रिया