भैरहवा । लुम्बिनी सांस्कृतिक नगरपालिकाका १ सय शैयाको आधुनिक अस्पताल बनाउने प्रयास सुरु भएको छ । बिशेष गरि लुम्बिनी तथा यस आसपासका महिलाहरुका देखिएको स्त्री तथा प्रजनन् स्वास्थ्य सम्बन्धि समस्यालाई ध्यानमा राख्दै अन्य सुविधासहित लुम्बिनीमा आधुनिक अस्पतालको तयारी थालिएको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको पहलमा लुम्बिनी गार्डेन फाउण्डेशनले उक्त अस्पताल निर्माण गरि दिने जनाएको छ । शुक्रबार लुम्बिनीमा आयोजित एक कार्यक्रममा लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीले यसको लागि नगरपालिकाले जग्गाको ब्यवस्थापन गरिदिनु पर्ने शर्त अगाडी सारेका छन् । ‘लुम्बिनीमा काम गर्न पाउनु हाम्रो भाग्य हो, नगरपालिकाले जग्गा ब्यवस्थापन गरेको दिन देखी नै अस्पताल निर्माण सुरु गर्छौं ।’ गिरीले भने ।
लुम्बिनी सांस्कृतिक नगरपालिका सहित भगवान गौतम बुद्धसँग सम्बन्धित रुपन्देहीको देवदह नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका र कपिलबस्तुको कपिलबस्तु नगरपालिका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिसल्सिना सहित स्पेनको भ्रमणको गएको समयमा नै अस्पतालको खाका तय भएको थियो ।
अस्पताल निर्माणको योजनालाई मूर्तरुप लिन लुम्बिनीमा ३ दिने बृहद स्वास्थ्य शिविरको आयोजना समेत गरिएको छ । शनिबारदेखि ३ दिनसम्म चल्ने उक्त शिविरमा स्पेनबाट आएका स्त्री तथा प्रजनन् रोग बिशेषज्ञहरु सहित भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज र लुम्बिनी प्रादेशिक अस्पतालले सहयोग गरेको छ ।
स्पेनबाट आएका स्त्रीरोग बिशेषज्ञ डाक्टर जुआन मार्कोस ओर्डेनेस गोन्जालेज, डाक्टर खोसे रामोन फुएन्तेस मोरान, डाक्टर येजिफर तातियाना मोरेनो सलजार र सेसेलिया राकेल रिवास उर्रुतियाले ३ दिन सम्म लुम्बिनी तथा यस आसपास स्त्री तथा प्रजनन् रोगको परिक्षण गरि यस बारे अध्ययन समेत गर्नेछन् ।
स्वास्थ्य शिविरका प्रमुख अतिथि राष्ट्रिय सभामा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अहिले पनि नेपालका महिलाहरु खुलेर स्त्री सम्बन्धि समस्या एवम प्रजनन् बारे खुलेर कुरा गर्न नचाहेको बताए । उनले समस्या लुकाउदै जटिल भए पछि मात्र उपचार खोज्ने परिपाटी रहेको बताउदै अब यसमा सुधार ल्याउनु पर्ने बताए । उनले शिविरमा सहभागी हुने महिलाहरुलाई खुलेर आफ्नो समस्या राख्न आग्रह गरे । यस क्षेत्रमा अध्ययन गर्न समेत आएका स्पेनिश टोलीलाई यहाको समस्या बारे जानकारी भए अस्पतालमा के–कस्तो सुविधा राख्ने भन्ने निक्र्यौल गर्न सहज हुने उनको भनाई थियो ।
यसका साथै लुम्बिनी सांस्कृतिक नगरपालिकाले यथाशिघ्र जग्गाको ब्यवस्थापन गर्न पनि उनले आग्रह गरे । ‘जति छिटो जग्गाको ब्यवस्थापन हुन्छ, त्यति नै छिटो यहा अस्पताल निर्माण हुन्छ र त्यति नै छिटो यहाका जनता लाभान्वित हुन्छन् ।’ तिमिल्सिनाले भने । उनले यहा बन्ने अस्पतालले लुम्बिनीवासी मात्र नभई छिमेकी पालिका, जिल्ला र भारतका नागरिकलाई समेत सहज हुने बताए।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले अस्पताल निर्माणको लागी जग्गा खोजि सकेको बताए । उनले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० मा रहेको सार्वजनिक जग्गामा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाएको बताए । उनले सो जग्गामा हकदावी सम्बन्धि ३५ दिने सूचना जारी गरि सकेको जानकारी दिए। चौधरीले निकट भविष्यमै लुम्बिनीले आधुनिक अस्पताल पाउने भएकोले यसको निर्माणमा सबैले सहयोग गर्न आग्रह समेत गरे ।
प्रतिक्रिया