भदौ २२,
ग्लोबल आवाज
बुटवल । नेपाल धितोपत्र बोर्ड र बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको संयुक्त आयोजनामा आइतबार बुटवलमा पूँजी बजार सम्बन्धि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पूँजी बजारमा लगानी गर्न चाहने लगानी कर्ताहरु भएपनि त्यसको ज्ञानको अभावमा लगानी गर्न हिचकिचाइरहेका व्यक्तिहरुलाई लक्षित गरेर त्यस बिषयमा जनचेतना अभिबृद्धि गर्नकालागि नेपाल धितोपत्र बोडसंग समन्वय गरेर कार्यक्रम आयोजना गरिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराए ।
कार्यक्रममा बोल्दै प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले आर्थिक बिकासका सम्भावना भएका क्षेत्रहरुमा लगानी आकर्षण आकर्षण घट्दै गएको बताउँदै त्यसलाई कसरी माथि उठाउने हो भन्ने कुरा लगानी बोडले पनि सोंच्नु पर्ने बेला आएको औंल्याए । उनले हाईड्रोमा लगानी आकर्षण उच्च हुँदाहुँदै अहिले ह्वात्त आकर्षण घटेको बताउँदै उर्जा बिकासको सम्भावना बोकेको हाइड्रोको लगानी आकर्षण घट्यो भने त्यसले बिकासमा समेत प्रभाव पार्ने उल्लेख गरे । त्यस्तैगरी उनले शेयर ब्रोकरको संख्या कम भएको भन्दै ब्रोकरको संख्या बढाउन धितोपत्र बोर्डलाई आग्रह गरे ।
उनले शेयर बजार निश्चित व्यक्तिको हातमा रहँदा त्यसको भ्यालु पनि उसले बढाउन चाहँदा बढ्ने र घटाउन चाहँदा घट्ने भएकाले दायरा बढाउन र नियमन गर्न पनि सुझाव दिए । उनले पूूँजीबजार सम्बन्धि प्रशिक्षणलाई स्थानीय तहसम्ममा पुर्याउन पनि आग्रह गरे । प्रदेश योजना आयोगका उपाध्यक्ष गौतमले प्रदेश सरकारले आगामी ५ वर्षको योजना तर्जुमा गरेर सार्वजनिक गरिएको उल्लेख गर्दै त्यसमा नीजि क्षेत्रबाट २ तिहाई योगदानको अपेक्षा सरकारले राखेको जानकारी गराए ।
सो अवसरमा रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पूँजी बजारका बारेमा उपत्यका बाहिरका अधिकांस मानिस अनविज्ञ रहेको उल्लेख गर्दै जनचेतनामूलक कार्यक्रम फलदायी हुने बताए । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले प्रदेश पाँचको राजधानी बुटवल औद्योगिक तथा व्यापारिक हिसावले महत्वपूर्ण रहेको उल्लेख गर्दै बुटवलमा ६ वटा ब्रोकरको शाखा सञ्चालनमा रहेको र अब बैंकलाई समेत ब्रोकरको लाईसेन्स दिने तयारीमा रहेकाले पूँजी बजारको बारेमा जनचेतना अभिबृद्धि गर्न अपरिहार्य रहेको बताए । पूँजी बजार बढाउनकालागि पनि बित्तिय साक्षरता बढाउनु पर्ने उनको भनाई छ ।
पूँजी बजार घटेर अहिले ४०/५० करोडमा झरेको उल्लेख गर्दै नेपाल धितोपत्र बोर्डका प्रमुख कार्यकारी निर्देशक निरज गिरीले बढेको बेला २/३ अर्वसम्म पुग्ने बताए । उनले पूँजी बजारमा लगानी गर्ने व्यक्तिले आफूसंग भएको पैसालाई लगानी गर्ने भन्ने भएपनि ऋणमा लगानी भएको देखिएको उल्लेख गर्दै ऋणमा भएको लगानी व्यबस्थापन गर्न नसक्दा त्यसको प्रभावले पूँजी बजार घटेको हुन सक्ने उल्लेख गरे । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरेले पूँजी बजार सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । सो अवसरमा यस क्षेत्रका उद्योग व्यापारी तथा प्राध्यापकहरुले पूँजी बजारसम्बन्धि प्रशिक्षण बढाउनु पर्ने, ब्रोकरको संख्या थप्नुपर्ने, पूँजी बजार घटबढ हुनुको कारण लगायतका कुराहरुको जिज्ञासा राखेका थिए । कार्यक्रम संघका व्यबसाय बिकास अधिकृत गोबिन्द पाण्डेको सञ्चालनमा भएको थियो ।
प्रतिक्रिया