भदौ २२,
ग्लोबल आवाज
तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ को नवनिर्मित भवन उद्घाटन गरिएको छ । केवलानीमा निर्मित सो भवनको आइतबार आयोजित एक कार्यक्रमबीच कार्यवाहक नगर प्रमुख दुर्गाप्रसाद पाण्डेयले उद्घाटन गरेका हुन् । सो अवसरमा कार्यवाहक नगर प्रमुख पाण्डेयले एकल वडा कार्यालय सञ्चालन गर्ने नीतिअनुसार वडा नं. ९ ले आफ्नै कार्यालय भवन बनाएको बताए । उनले दुई वर्षभित्र नगरका सबै वडा कार्यालय सुविधासम्पन्न आफ्नै भवनबाट सञ्चालन गर्नेगरी कामअघि बढेको बताए । फरक प्रसंगमा कार्यवाहक नगर प्रमुख पाण्डेयले तिलोत्तमा लगानी सम्मेलनको तयारी तीव्रताका साथ अघि बढेको बताउँदै लगानी सम्मेलनले नगरको विकासमा नयाँ आयाम थप्ने बताए ।
सात वटा गाविस मिलेर बनेको तिलोत्तमामा साविकका गाविस भवनबाहेक आफ्नै भवन बनाउने वडा नं. ९ पहिलो बनेको छ । अन्य वडा कार्यालय भवनहरु निर्माणको क्रममा छन् । उद्घाटन कार्यक्रममा वडाध्यक्ष नारायण न्यौपानेले सबैको सहयोगले छोटो समयमैं भवन निर्माण सम्पन्न गर्न सफल भएको बताए। नयाँ भवनबाट सेवा प्रवाह थप सहज हुने उनले विश्वास व्यक्त गरे । यसअघि वडा नं. ९ को वडा कार्यालय भाडाको भवनमा सञ्चालन भएको थियो ।
सो अवसरमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्य, नेपाली कांग्रेसका जिल्ला सदस्य गणेश न्यौपाने, नेपाल कम्युनिष्ट पार्टीका वडा इञ्चार्ज नेत्र वन, जनमुक्ति पार्टीका वडा अध्यक्ष भेलबहादुर थापालगायतले बोलेका थिए । वडा सदस्य अन बहादुर थापाको स्वागत तथा वडा सचिव कृष्णप्रसाद भट्टराईको सञ्चालनमा कार्यक्रम भएको हो ।
प्रतिक्रिया