ताजा अपडेट »

बुटवलमा 'बि' लेभल पुरुष भलिबल प्रतियोगिता, पहिलो खेलमा आयोजक समूह विजयी

शुक्रबार, १५ असोज २०७८

बुटवल । बुटवलमा लाफा समुहको आयोजनामा बि लेभल पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ। दिपनगर स्थित शिवनगर सामुदायिक बनको खेलमैदानमा पत्रकार र आयोजक लाफा समूह बिच भएको मैत्रीपुर्ण खेलमा लाफा विजयी भएको छ।

लाफा समूहका पुर्व खेलाडीहरु खेलमा ३-१ को सेटमा विजयी भएका छन। पहिलो सेट २५-१७ र दोस्रो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै लाफाले खेलमा अग्रता लिएको थियो। तर तेस्रो सेट पत्रकारले २५-१९ को अंकको जित निकाल्दै खेलमा फर्केको भएपनि चौथो सेट लाफाले २५-२२ मा जित्दै खेल आफ्नो कोल्टामा पारेको थियो।

शिवनगर सामुदायिक वन विकास समितिका अध्यक्ष नारायण बहादुर घिमिरेले एक कार्यक्रमका बिच खेलको उद्घाटन गर्दै खेल पुर्वाधारमा अगाडि बढ्न जरुरी रहेको बताए। शिवनगर वन क्षेत्रमा खेलग्रामको योजना अगाडि बढाउन ३ तहकै सरकारबिच सहकार्यको काम अघि बढेको उनले बताए।

धेरै खेलका सुविधासम्पन्न मैदान बनाउने गरि गुरुयोजना रहेको उनको भनाई थियो । कुनै बेला नेपालमा खेलाडीहरुलाई सरकारी र गैरसरकारी संस्थाहरुले नियुक्ति दिएर खेल र खेलाडी विकासमा योगदान आएको भएपनि पछिल्लोसमय ब्यवसायिक खेलमा अगाडी बढ्न नसकेको उनले दुखेसो गरे।

कार्यक्रममा समाजसेवी चक्र बहादुर राना, देवेन्द्र थापा, नगर खेलकुल विकास समितिका अध्यक्ष नन्दु काउचा, वन विकास समितिका कोषाध्यक्ष राजेन्द्र रिजाल, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, खेलकुद पत्रकार मन्चका अध्यक्ष सुमन अधिकारी, रुपन्देही स्नुकर तथा पुल हाउस संघका अध्यक्ष गजेन्द्र श्रेष्ठ, समुहका उपाध्यक्ष बबिन थापा, सचिव यसपाल चौतारेले युवाहरुको खेल विकासमा सबैको पहल जरुरी रहेको बताए।

प्रतियोगितामा विभागिय र राष्ट्रिय प्रतियोगिता सहभागी नभएका ४० टिमको सहभागिता रहेको समुहका अध्यक्ष तारा रश्मीमगरले बताए। ३ दिनसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले नगद ४० हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए।

यसैगरि द्धितीय टिमले नगद २० हजार, तृतिय टिमले नगद १० हजार रुपैया तथा सान्त्वना टिमले नगद ५ हजार रुपैया, शिल्ड, प्रमाणपत्र, मेडलबाट पुरस्कृत गरिने उनले बताए। प्रतियोगिताको प्रथम, द्धितीय, तृतिय र सान्त्वना पुरस्कार युके निवासी दान बहादुर थापा, देविन थापा, ब्रुस थापा, खेम कुमार (रबि) थापा, दिपेन्द्र थापाले ७५ हजार रुपैया बराबर रकम सौजन्य गरेका छन। प्रतियोगिता संचालनमा ९ लाख १५ हजार खर्च हुने अनुमान खेल संयोजक केशव रानाले बताए।