भाद्र २२,
बुटवल । रुपन्देहीमा रहेको मनकामना लघुवित्त वित्तीय संस्था र दाङ्गको स्मार्ट लघुवित्त वित्तीय संस्थाबीच गाभ्ने/गाभिने सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ। मनकामनाका अध्यक्ष अजय गोयन्का र स्मार्टका अध्यक्ष शान्ति चौधरीले गाभ्ने-गाभिने समझदारीपत्रमा हस्ताक्षर भएको हो।
१० जिल्ला कार्यक्षेत्र रहेको मनकामनाको पूँजी ४ करोड ५५ लाख र कल इन एड्भान्समा रहेको २ करोड २७ लाख ५० हजारलाई पूँजीकृत गरी ६ करोड ८२ लाख ५० हजार तथा स्मार्ट लघुवित्तको १ करोड ४० लाख गरी गाभिएपछिको चुक्ता पूँजी ८ करोड २२ लाख ५० हजार पुग्नेछ। सर्वसाधारणमा साधारण शेयर जारी गरेपछि संस्थाको कुल पूँजी करिव १२ करोड ५ लाख पुग्नेछ। हाल मनकामनाका १६ वटा तथा स्मार्टका ७ वटा शाखा कार्यालय रहेका छन्। गाभ्ने/गाभिने समझदारी अनुसार मर्जरपछि संस्थाको नाम मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ। केन्द्रीय कार्यालय हालको मनकामनाको कार्यालयमा रहने, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत पनि मनकामनाबाटै हुने सहमति भएको छ। स्मार्ट लघुवित्तका प्रमुख कार्यकारी अधिकृत तथा ब्यवस्थापनका कर्मचारीहरु संयुक्त कारोबारपछि ब्यवस्थापन समूहमा समायोजन हुने समझदारीपत्रमा उल्लेख छ। नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक सहमति प्राप्त गरेको मितिले ४ महिनाभित्र एकीकृत कारोबार शुरु गर्ने सहमति भएको र मर्जरपछि बन्ने संचालक समितिमा ३/३ जनाको प्रतिनिधित्व रहने सहमतिपत्रमा उल्लेख छ।
मर्जरका लागि स्वाप रेसियो एक बराबर एक हुने तथा सम्पत्ति तथा दायित्वको मूल्यांकनपछि १० प्रतिशतभन्दा बढीको फरक पर्न आए आपसी सहमतिमा स्वाप रेसियो निर्धारण गर्ने सहमतिमा उल्लेख छ।१८ महिनाअघि संचालनमा आएको मनकामनाको करिव ४७ करोड कर्जा, ११ करोड बचत र ८ हजार सदस्य रहेका छन्। गैर सरकारी संस्थाबाट लघुवित्तमा रुपान्तरण भई ८ महिनादेखि संचालनमा आएको स्मार्टको १४ करोड कर्जा ७ करोड बचत र ७ हजार सदस्य रहेका छन् । मनकामनाले गत आर्थिक वर्षमा करिव ५६ लाख खुद मुनाफा गरेको छ भने स्मार्टको करिव ५ लाख घाटा रहेको छ। - बिजमाण्डू
प्रतिक्रिया