बुटवल । सरकारले चाडवाडको समयमा स्वास्थ्य प्रोटोकल अपनाएर गरिने कुनै पनि कार्यलाई रोक नलगाइने बताएको छ । गृह मन्त्रालयले संविधान, प्रचलित कानुन र कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य मापदण्ड भित्र रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज आदेश र उद्देश्य नरहेको स्पष्ट पारेको छ ।
गृह मन्त्रालयले विज्ञप्ति निकालेर भनेको छ- ‘नेपालको संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने नेपाल सरकारको कुनै आदेश र उद्देश्य नभएको ब्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।’ चाडवार्ड नजिकिएसँगै केही जिल्ला प्रशासन कार्यालयहरुले गरेको नयाँ आदेश लक्षित जारी विज्ञप्तिले उक्त आदेशसँगै उठेका प्रश्नहरुमाथि गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ र भक्तपुरले जारी गरेका आदेशका विषयमा सार्वजनिक रुपमा चासो र चिन्ताप्रति मन्त्रालयको गम्भीर ध्यानआकर्षण भएको जारी विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयहरुले कुनै पनि पर्व, भेला वा जुलुस गर्न नपाइने आदेश जारी गरेका थिए ।
जिल्ला प्रशासन कार्यालयहरुले हिजो कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने÷नगराउने आदेश जारी गरेको थिए ।
यो सूचना जारी भएपछि गृह मन्त्रालयले सरकारले संविधान, प्रचलित कानुन र कोभिड–१९ को नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य प्रोटोकलभित्र रही गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाउने कुनै आदेश र उद्देश्य नभएको स्पष्ट पारेको हो ।
प्रतिक्रिया