ताजा अपडेट »

नेपाल तेक्वान्दो संघको महाधिवेशन भैरहवामा

विहीबार, १४ असोज २०७८

भैरहवा । नेपाल तेक्वान्दो संघको चौथो महाधिवेशन भैरहवामा आयोजना हुने भएको छ । असोज १६ गते शनिबार भैरहवामा रहेको होटल बोधी रेड्सनमा संघको महाधिवेशन गर्ने संघले जनाएको छ ।

प्रायः महाधिवेशन काठमाण्डौं केन्द्रित हुने भएपनि आन्तरिक पर्यटन उकास्ने उद्देश्यसहित संघको महाधिवेशन भैरहवामा गर्न थालिएको यसका महासचिव दिपराज गुरुङले बताए । महाधिवेशनमा ५६ जिल्लाका तेक्वान्दो संघका अध्यक्ष, ७ प्रदेशका अध्यक्ष तथा बिभिन्न क्षेत्रका प्रतिनिधिहरु गरि १ सय ५० भन्दा बढीको सहभागीता रहने गुरुङले जानकारी दिए । प्रदेश स्तरिय समिति समेत गठन भई सकेको अवश्थामा आगामी मंसिर महिना भित्र ती प्रदेशका पनि अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

संघले अन्तराष्ट्रिय स्तरमै खेल क्षेत्रमा नेपालीहरुको मान सम्मान बढाउने कार्य गरि आएको संघका अध्यक्ष प्रकाश शम्शेर राणाले बताए । संघकै नेतृत्वमा साफ खेलहरुमा महत्वपूर्ण उपाधीहरु जितेको र आगामी दिनमा तेक्वान्दोलाइ कसरी थप शशक्त बनाउने बिषयमा महाधिवेशन केन्द्रित रहने उनले जनाए । महाधिवेशनले ४ बर्षे कार्यकालको लागी १ जना अध्यक्ष, ३ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र एघार सदस्यहरु निर्वाचन गरिने राणाले जानकारी दिए ।

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रिय सदस्य एवम स्वर्ण पदक बिजेता खेलाडी कोशिश खड्काले केन्द्रिय अधिवेशन नै भैरहवामा आयोजना गर्न लागेकोमा संघलाई धन्यावाद दिए । उनले यस महाधिवेशनले थोरै भए पनि भैरहवा र यस आसपासको पर्यटन एवम आर्थिक क्षेत्र चलायमान हुने आशा ब्यक्त गरे ।

शनिबार हुने महाधिवेशनको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य प्रमोद यादव रहने आयोजकले जानकारी गराएका छन् । कार्यक्रम नेपाल तेक्वान्दो संघका जिल्ला अध्यक्ष दिपेन्द्र बुढाप्रिथीको अध्यक्षतामा सम्पन्न भएको थियो ।