ताजा अपडेट »

२२ वर्षको उमेरमा गाविस उपाध्यक्ष जितेका सापकोटा कांग्रेस अधिवेशनमा भिड्दै

विहीबार, १४ असोज २०७८

गुल्मी । २०५४ सालको निर्वाचनमा गुल्मीको साविक अर्लाङ्गकोट गाविस उपाध्यक्ष पदमा एउटा २२ बर्षीय युवाले अध्याधिक मतले विजयी हुने नाम हो,कृष्ण प्रसाद सापकोटा । त्यतिबेला गुल्मीमा सबैभन्दा कान्छो उमेरको युवाले गाविस उपाध्यक्ष जितेको भन्दै उनको निकै चर्चा हुन्थ्यो ।

अहिले आएर नेपाली कांग्रेस गुल्मीको १४ औं महाधिवेशनमा उनै सापकोटा गुल्मी क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि (खस आर्य) उम्मेदरवारमा भिड्दै छन्। निर्वाचनाका लागि तयार उनले आफ्ना मतदातालाई अबको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । ‘तरुणहरुको हातमा पार्टीको भविष्य हुन्छ । यसर्थ साथीहरु म विनम्र निवेदन गर्दछु कि यो महाधिवेशनमा यस्तै नविन , कर्मशिल र तरुण सोंचका साथ प्रतिनिधि चयन गरौं ।’ उनले भने‘हालको मुसिकोट नगरपालिका–९ अर्लाङ्गकोट निवासी सापकोटा बौद्धिक युवा नेता मानिन्छन् ।

यस्तो छ सापकोटाको राजनीतिक यात्रा
२०४३ सालदेखि नेवि संघमा आबद्ध भएका उनी २०४६ सालको जनआन्दोलनमा सक्रिय भएका थिए । उनी २०४७ सालमा नेपाल विद्यार्थी संग अर्लाङ्गकोटको सभापति भएका थिए । २०५० सालमा नेवि संघ छैठौं महाधिवेशन तयारी समितिको सदस्य रहेका उनी २०५२ सालमा नेवि संघ गुल्मी क्षेत्र नम्वर १ को क्षेत्रिय सभापति भएका थिए ।

२०५४ सालमा नेपाली कांग्रेसबाट अर्लाङ्गकोटको गाविस उपाध्यक्षमा निर्वाचित उनी २०५५ सालमा नेपाल तरुण दलको संस्थापक जिल्ला सदस्य भएका थिए । उनी २०६८ सालमा नेपाल तरुण दल केन्द्रिय सामाजिक तथा सांस्कृतिक विभागको उपाध्यक्षमा मनोनित भएका थिए । २०७७ साल देखि उनी नेपाली कांग्रेस जनसम्पर्क तथा समन्व्य विभागको केन्द्रिय सदस्यको जिम्मेवारीमा छन् ।