काठमाडौँ । देशभर हालसम्म लक्षित जनसङ्ख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म खोप लगाउनेहरूको सङ्ख्या बताएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले नेपालमा हालसम्म एक करोड २९ लाख मात्रा खोप लगाइसकिएको जानकारी दिए। यसमध्ये २८ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । बाँकीले पूर्ण मात्रा पाएका छैनन् । उनका अनुसार नेपालमा हालसम्म एक करोड ७८ लाख ५८ हजार ७१० मात्रा कोभिड–१९ विरुद्धको खोप आएको छ । नेपालले विभिन्न देशबाट उक्त खोप ल्याएको हो । आएका खोपमध्ये सबैभन्दा धेरै चीनको भेरोसेल खोप रहेको उनले बताए ।
पौडेलका अनुसार भेरोसेल खोप मात्रै नेपालमा एक करोड १९ लाख मात्रा खोप आएको छ । त्यसपछि धेरै आउनेमा भारतमा बनेको कोभिसिल्ड खोप रहेको छ । कोभिसिल्ड २४ लाख ४८ हजार मात्रा खोप भित्रिएको छ । यस्तै बेलायतमा उत्पादन भएको अस्ट्राजेनेका खोप १९ लाख ७५ हजार ८६० मात्रा, जोनसन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा रहेका छन् । भारतले अनुदानमा दिएको १० लाख डोज खोप नेपाल आएपछि गत माघ १४ गतेबाट नेपालमा खोप अभियान सुरु भएको थियो । खोपपछि कोरोना सङ्क्रमणदर ५२.३ प्रतिशतले घटेको छ । प्रवक्ता पौडेलले गत महिनाको तुलनामा सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको जानकारी दिए।
गत महिना ३६ हजार ८६१ जना अर्थात् ४.८६ प्रतिशत सक्रिय सङ्क्रमित रहेकोमा अहिले घटेर १८ हजार ४२२ अर्थात् २.३२ प्रतिशतमा झरेको छ । सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै डा। पौडेलले कोरोना भाइरसका सङ्क्रमितहरू अझै पनि धेरै रहेकाले सतर्कता भने अपनाउनुपर्ने बताए। यसैबीच गत २४ घण्टामा देशभर एक हजार १५७ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा। पौडेलले थप एक हजार ११३ जना निको भएको जानकारी दिए । यस्तै थप आठ जना सङ्क्रमितको निधन भएको छ ।
प्रतिक्रिया