ताजा अपडेट »

नेप्से परिसूचक: साताको पहिलो दिनमै दोहोरो अंकले गिरावट

आइतबार, २२ भदौ २०७६


भाद्र २२,
ग्लोबल आवाज
बुटवल । धितो पत्र बोर्डको नेप्से परिसूचकमा लगातार ओरालो लाग्ने क्रम यो साता पनि निरन्तर रहने पहिलो दिनको कारोबार संकेतले देखाएको छ । साताको चौथौ हप्ताको सुरुवाती दिनमा आज नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । नेप्सेमा १२ दशमलव ६१ अंकले गिरावट आएको हो ।


नेप्से परिसूचक १ हजार १९२ दशमलव ०७ अंकबाट सुरुभई १ हजार १७८ दशमलव ४६ अंकमा आएर रोकिएको छ । कूल १ सय ६५ कम्पनीहरुले जारी गरेको ११ लाख ७३ हजार ४ सय ८८ सेयरबाट ३० करोड ५३ लाख १० हजार ७१९ रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा नन् लाईफ इन्सुरेन्स उप शिर्षक (निर्जिव वस्तुको विमा)को बारोबारमा सबैभन्दा बढी १ सय २ दशमलव २९ अंकले गिरावट आएको छ भने सबै भन्दा कम म्युचुअल फण्डमा शून्य दशमलव ०४ अंकले कमी आएको छ । आइतबार समग्र परिसूचकमा गिरावट आए पनि आँधीखोला लघुवित्त कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । ४ सय १२ रुपैयाँ कायम गरिएको कम्पनीको सेयर मूल्य ४ सय ४४ रुपैयाँ सम्म पुगेको थियो । तर, पाँचथर पावर कम्पनी र युनिर्भसल पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यी कम्पनीको शेयर मूल्य भने करिब ९ प्रतिशतले घटेको छ । यस दिन सबैभन्दा बढी प्रभु बैंकको संस्थापक शेयर किनबेच भएको छ । यस कम्पनीको ५ करोड २४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज कारोबारमा आएका सबै  समूहको परिसूचकमा गिरावट आएको छ । 

यस महिनाको पहिलो साताको पहिलो दिन आईतबार नेप्से परिसूचकमा १ हजार २१४ दशमलव ८४ अंक रहेकोमा साताको अन्त्यसम्म आईपुग्दा १ हजार २१३ दशमलव ०७ अंक रहेको थियो । महिनाको दोस्रो साता १ हजार १९६ दशमलव ७२ अंकबाट सुरु भएको नेप्से परिसूचक साताको अन्तिमम दिनसम्म आईपुग्दा १ हजार १९६ दशमलव ४२ अंकमा आएर रोकिएको थियो । दोस्रो साता केही स्थिर देखिएको नेप्से परिसूचकमा तेस्रो साता भने केही उतारतढाप देखियो । तेस्रो साताको सुरु दिन १ हजार १ सय ८४ दशमव ७९ अंकबाट सुरुभएको नेप्से परिसूचक साताको अन्तिम दिन १ हजार १९१ दशमलव ०७ अंकमा आएर रोकिएको थियो ।