भाद्र २२,
बुटवल । नेपाली महिला राष्ट्रिय फुटबल टोली नादेझ्दा कप फुटबल प्रतियोगिताको सुरुवात खेलमा आयोजक किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समय अनुसार आज दिउँसो ३ः ४५ बजे सुरु हुने छ ।
नादेझ्दा कपमा सहभागी चार देशका टोलीले ५ दिनमा ४ खेल खेल्नु पर्नेछ । नेपालले नादेझ्दा कपमा लगातार तीन दिन समूह चरणका खेल खेल्दैछ । भदौ २३ गते उज्वेकिस्तानसँग खेलेपछि नेपालले त्यसको भोली पल्ट भदौ २४ गते ताजिकिस्तानको सामना गर्नेछ । राउन्ड रोविन लिग पछि भदौ २६ गते शीर्ष २ टोलीले उपाधिका लागि र त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका रुपमा यो प्रतियोगितालाई हेरिएको छ ।
महिला टोलीले गत वर्ष उच्च प्रदर्शन गरेको थियो । चैतमा विराटनगरमा साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि नेपाली टोलीले सन् २०२० ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो ।
प्रतिक्रिया