ताजा अपडेट »

राष्ट्रिय फुटसल लिग : राइजिङ क्लब र फुटसल पाँच धरान विजयी

मंगलबार, १२ असोज २०७८

कास्की । पोखरामा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिगअन्तर्गत आजको खेलमा द राइजिङ क्लब र फुटसल पाँच धरान विजयी भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा गत असोज २ गतेदेखि पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन भइरहेको प्रतियोगिताको आजको पहिलो खेलमा राइजिङले ढुकु फुटसल हबलाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।

खेलमा सुरुआत अग्रता ढुकुले बनाए पनि दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित बन्न पुग्यो । राइजिङका मिलन राईले दुई तथा हेमन्त थापामगर, सुदीप गुरुङ र विवेक राइले एक/एक गोल गरे । ढुुकुका अमित लामा, प्रसिद्ध मगर, अभय रानाले एक/एक गोल गरे । खेलमा राइजिङका बिकु तामाङ म्यान अफ दी म्याच चुनिए र रु पाँच हजार पुरस्कार पाए । यसैगरी आजको दोस्रो खेलमा घरेलु टोली सविन मेमोरियल पोखरा फुटसल ५ धरानसँग पराजित भएको छ । घरेलु टोलीको यो दोस्रो हार हो ।

फुटसल ५ धरानले सविनलाई ५-४ गोल अन्तरले पराजित गर्न सफल भयो । खेलमा सविनले सुरुआती ३ गोलको अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा खेलमा पराजित हुन पुग्यो । धरानका प्रवेश जोशी र विजय श्रेष्ठबाट समान दुई/दुई गोल र रञ्जित गुरुङले एक गोल गरे । सविनका अभिनाश तामाङले दुई तथा मनोज गुरुङ र अनुप राना मगरले एक/एक गोल गरे ।

असोज २२ गतेसम्म सञ्चालन हुने लिगको विजेताले रु १० लाख तथा उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । रासस