ताजा अपडेट »

मेस्सी म्यानचेस्टर सिटीविरुद्ध खेल्ने पक्का

मंगलबार, १२ असोज २०७८

एजेन्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी टिम प्रशिक्षणमा फर्किएका छन् । च्याम्पियन्स लिगको खेल अघि मेस्सी टिमको प्रशिक्षणमा फर्किएका हुन् ।

मेस्सीले चोटका कारण क्लबका पछिल्ला दुई खेल गुमाएका थिए । घुँडाको चोट ठीक भएपछि मंगलबार च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्ध मेस्सी खेल्ने भएका छन् । यो सिजन पिएसजीमा आबद्ध भएका मेस्सीले नयाँ क्लबमा गोलको खाता खोल्न सकेका छैनन् । ३ खेलमा मौका पाएका मेस्सी पछिल्ला दुई खेलमा चोटका कारण अनुपस्थित भए ।

सिटीका हालका प्रशिक्षक पेप ग्वार्डिओलाको प्रशिक्षणमा मेस्सीले बार्सिलोनामा लामो समय खेलेका थिए ।च्याम्पियन्स लिगमा ग्वार्डिओलाले सम्हालेको टोलीविरुद्ध मेस्सीले जति गोल अन्य खेलाडीले गरेका छैनन् । आफ्ना पूर्व प्रशिक्षकले सम्हालेको टोलीविरुद्ध ४ खेलमा मेस्सीले ६ गोल गरेका थिए । पिएसजीले फेरि एक पटक विश्व फुटबलका तीन सुपर स्टारलाई सिटीविरुद्ध उतार्ने भएको छ । ६ पटकका 'बालोन डी ओर'का विजेता मेस्सीका साथ नेयमार र केलियन एमबाप्पले सिटीविरुद्ध अग्रपक्तिको मोर्चा सम्हाल्न छन् ।

खेल पिएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । पीएसजी समूह चरणमा पहिलो जितको खोजीमा हुनेछ । पीएसजीले पहिलो खेलमा क्लब ब्रुगसँग १–१ गोलको बराबरी खेलेको थियो । यि दुई टोलीबीचको पछिल्लो चार भेटमा सिटीले पीएसजीसँग हार बेहोरेको छैन । पछिल्लो तीन खेलमा सिटीले जित निकाल्दा त्यो भन्दा अघिको खेल २–२ गोलको बराबरी खेलेको थियो ।

यही समूहको अर्काे खेलमा जर्मन क्लब आरबी लाइप्जिगले बेल्जियन टोली क्लब ब्रुगसँग खेल्दैछ । खेल नेपालीसमयअनुसार राति १२ः४५ बजे हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछ ।