ताजा अपडेट »

रेबिज सम्बन्धी तथ्य,भय र अपनाउनु पर्ने सावधानी

मंगलबार, १२ असोज २०७८


रेबिज पशुबाट मानिसमा सर्ने रोग हो । ल्याटिन शब्द ‘र्याबिर’को अर्थ ‘क्रोध’बाट रेबिज भन्ने अंग्रेजी शब्द बनेको हो । विशेषगरी बहुलाएको कुकुर वा अन्य शंकास्पद जनावरको टोकाइबाट मानिसमा सर्दछ । लिजा प्रकारको रेब्डो भाइरसले गर्दा लाग्ने यो रेबिज रोगको लक्षण देखिइसकेपछि ३ देखि १० दिन भित्र बिरामीको मृत्यु हुन्छ । त्यसैले रेबिजलाई प्राणघातक रोग भनिन्छ । रोगी जनावरको र्याल घाउ मार्फत शरीरमा रेबिजका जिवाणु प्रवेश गर्दछ भनेर सन् १८०४ मा जर्मन बैज्ञानिकले पत्ता लगाएका थिए । यो रोगले छाला मुनिको भित्री तन्तु , मांसपेसी हँुदै परीधिय र केन्द्रिय स्नायु प्रणालीमा असर गर्दछ । बिस्तारै शरीरका अरु अङ्गहरुमा असर गरी बिरामीको मृत्यु हुन्छ । रेबिज मानब सभ्यतासंगै देखिएको रोग हो ।

उत्तरपूर्वी अफ्रिकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा ४३०० वर्ष अगाडीको इतिहासमा रेबिज रोगका बारेमा उल्लेख गरेको पाइन्छ । दार्शनिक एरिस्टोटलले आजभन्दा २३०० वर्ष अगाडि लेखेको नोटमा पनि रेबिज लागेको कुकुरले मानिसलाई टोकेमा वा उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरहरुको सम्पर्कमा मान्छे आएमा रेबिज लाग्ने तथ्य उल्लेख गरेका छन् । हुनत कुुकुर र मान्छेको सम्बन्ध आज भन्दा ९ हजार वर्ष पहिले देखि स्थापित हो भन्ने कुरा शास्त्रमा उल्लेख छ । बायोलोजी लेटर्स भन्ने विज्ञान पत्रिकाका अनुसार जंगली ब्वासोको परिवारबाट कुकुर मानवको परिवारसँग आएको भन्ने कुरा डिएनए परिक्षणबाट पत्ता लागेको छ । रेबिज अन्टार्कटिका महादेश बाहेक १५० राष्ट्रहरुमा पाइन्छन् ।

२०आंै शताब्दी अगावै रेबिजको संक्रमण एकदमै धेरै थियो । २० औं शताब्दीको शुरुवातसँगै जनचेतना र खोपको कारण विकसित देश र युरोपमा रेबिजको संक्रमण नाटकीय रुपमा कम हुंदै गयो । जसका कारण अष्ट्रेलिया , ताइवान ,साइप्रस , आइसल्यान्ड, आइरल्याण्ड, जापान, माल्टा , न्यूजिल्यान्ड, वेलायत, पेनिशुला, फिनल्यानड, नर्वे, स्विडेन रेबिज मुक्त देश भएका छन् । यो रोगबाट मानब मृत्युकाृ ९५ प्रतिशत अफ्रिका र एसियामा रहेको छ । यो रोग लागेका बिरामी मध्ये ४० प्रतिशत १५ वर्ष उमेर मुनिका बालबच्चा प्रभावित छन्। अहिले पनि विश्वभर ५९००० प्रति बर्ष रेबिजका कारणले मर्ने गर्दछन भने नेपालमा वर्षेनी २०० जना ब्यक्तिले ज्यान जाने गर्दछ । ३५ हजार मानिस कुकुरको टोकाइको शिकार हुने गरेका छन् ।

करिब पचास हजार नागरिक पोष्ट एक्पोजर प्रोफाइलेक्सिस उपचार लिने गर्दछन्। विश्व स्वास्थ्य संगठनको नेतृत्वमा विश्वलाई रेबिज विरुद्धमा एकता गर्दै सन् २०३० मा कुकुरबाट लाग्ने रेबिजद्वारा मानव मृत्यु शून्य बनाउने रणनिती लिएको छ । यसका लागि सन २००७ सेक्टेम्बर ८ मा पहिलो विश्व रेबिज दिवस मनाउन शुरु गरीएको थियो । रेबिज बिरुद्धको खोप पत्ता लगाउन लामो अध्ययन ,लगन , मेहनत गरेका लुइस पाश्चरले मृत्यु वरण गरेको ऐतिहासिक दिन २८ सेक्टेम्बरलाई उनको सम्मानमा ‘विश्व रेबिज दिवश’ मनाउन थालिएको हो । २८ सेक्टेम्बर २०२१ तदनुसार १२ असोज २०७८ मा ‘रेबिज,यथार्थ नडराऊ’ (Rabies ; Facts,Not Fear) भन्ने नाराका साथ पन्ध्रौ विश्व रेबिज दिवस मनाइँदैछ ।

रेबिज ९९ प्रतिशत ज्यान लिने घातक रोग हो र सतप्रतिशत रोकथाम गर्न सकिने रोग हो । त्यसैले रेबिज सम्बन्धि तथ्यलाई आम समुदायमा फैलाउँदै भ्रम र अन्धविश्वासलाई हटाई विश्व समाजलाई रेबिजमुक्त गराउने यो वर्षको मुख्य उद्देश्य छ । अहिलेसम्मको विश्व इतिहासमा रेबिज लागिसकेपछि २९ जना ब्यक्ति मात्र बाँचेको तथ्यांक छ । त्यसैले रेबिजलाई प्राणघातक रोग भनिन्छ । यो रोगको जिवाणु शरीरमा प्रवेश गरेपछि रोगको लक्षण ७ दिनदेखि वर्षौंसम्म पनि आउन सक्छ । कति समयमा लक्षण देखिन्छ भन्ने कुरा कुकुरले कुन ठाउँमा टोकेको छ,कति ठाउँमा टोकेको छ,कति गहिरो टोकेको छ , लुगा माथिबाट टोकेको छ कि नांगो छालामा टोकेको छ , कस्तो कुकुर वा जनावरले टोकेको छ भन्ने कुरामा निर्भर गर्दछ।

यी माथिका घाउको आधारमा पनि उपचार गरिन्छ । करिब ९६ प्रतिशत रेबिज संक्रमित कुकुरको कारणले सार्दछ बांकी ब्वाँसो,मुसा,स्याल,फ्याउरो,बिरालो वा अन्य मांसहारी जनावरको टोकाइबाट सर्ने गर्दछ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन बमोजिम विश्वमा २ अर्ब , अमेरिकामा ७ करोड ८० लाख ,भारतमा २० लाख ,चीनमा २ करोड ७० लाख सामुदायिक कुकुर छन्। रेबिज मानिसलाई मात्रै होइन गाई-भैंसी,बाख्रा ,घोडा,सुंगुर ,बिरालोलाई पनि लाग्दछ । रेबिज लागेको कुनै पनि जंगली जनावरसंगको सम्पर्कमा आउंदा सर्दछ । रेबिजका जिवाणु शरीरमा प्रबेश गरेपछि बिबिध प्रकारका लक्षणहरु देखा पर्दछन । जसमा पहिले टाउको दुख्ने ,ज्वरो आउने ,घाँटी, जीउ दुख्ने ,सानो कुरामा उत्तेजित हुने,पछि चिडचिडाहट हुने ,अध्यारो सुन–सान कोठामा एक्लै बस्न रुचाउने ,खाना पानी निल्न नसक्नु, पानीसँग डराउने ,बाक्लो च्यापच्याप लाग्ने र्याल आउनु ,प्रकाश हावा आवाजले शरीरका मासु खुम्चिनु ,कम्पन हुनु,पक्षघात हुनु,कुकुर जस्तो स्वभाव देखाउनु ।

रेबिज ९९ प्रतिशत ज्यान लिने घातक रोग हो र १०० प्रतिशत रोकथाम गर्न सकिने रोग हो । त्यसो भएका कारण यो रोगबाट बच्नु र रोकथामका उपाय अपनाउनु नै उत्तम हो । अहिलेको नाराले भने बमोजिम रेबिजको तथ्यलाई आम रुपमा फैलाउ,नडराउ रेबिजबाट बँच्न सकिन्छ भन्ने सन्देश दिएको छ । समाजमा रहेका अन्धविश्वास ,गलत धारणा ब्यवहार ,भ्रम ,शंका, आदिलाई हटाउनका लागि सूचना संचार प्रबिधीको अधिकतम प्रयोग गरी सचेतना अभियान सञ्चालन गर्ने । समुदायमा झारफुकदेखि संकास्पद जनावरले टोक्दा वा सम्पर्कमा आउँदा केहि हुँदैन , घरमै पालेको जनावर त हो नि , घाउ निको भइसक्यो जस्ता बिषयलाई नजरअन्दाज नगरी तुरुन्तै आवश्यक उपचारका उपाय गर्नुपर्दछ । विभिन्न संघ संस्था र निकायले अभियान थालिसकेका छन्।

ललितपुर नगरपालिकाले घरपालुवा कुकुरलाई रेबिज खोप र सडक कुकुरलाई बन्ध्याकरण गर्ने , बिर्तामोड नगरपालिकाले घरपालुवा कुकुरलाई र छाडा कुकुरलाइ रेबिज खोप लगाउने , घरमा कुकुर पाल्नुपरेमा स्थानिय निकायमा दर्ता गर्ने लगायत बिभिन्न स्थानीय तहहरुबाट थुर्पै सराहनीय प्रकृया शुरु गरेका छन्। यसका साथ साथमा संकास्पद जनावरको सम्पर्कमा आएमा वा टोकेमा १० मिनेट साबुन पानी ,एन्टिसेप्टिक औषधिले सफा गर्ने । घाउलाई टाका नलगाउने ,नदुख्ने औषधी , संक्रमणबाट बचाउन एन्टिबायोटिक औषधी दिने । कुकुरलाई १४ दिनसम्म निगरानीमा राख्ने । पाल्तु जनावर र छाडा कुकुर जनावरलाई रेबिज बिरुद्धको खोप लगाउने ।

रेबिज शंका लागेका जनावरलाई ,भुस्याहा कुकुरको उचित ब्यवस्थापन गर्ने । पाल्तु जनावरको हेरचाह गर्ने ब्यक्तिलाई अनिबार्य खोप लगाउने । रेबिज जस्तो प्राणघातक रोगमुक्त समाज बनाउने १५ आंै विश्व रेबिज दिवश २०२१ जस्तो विश्वब्यापी अभियान एक दिन होइन दिनहँु मनाउ । Organizer Global Alliance for Rabies control International stakeholder WHO  /  UIE, FAO,CDC ले र रेबिजलाई २०३० सम्ममा शुन्यमा पुर्याउने लक्ष्य प्राप्तिका लागि ब्यापक सचेतना अभिवृद्धि गर्ने तथा समुदाय,स्थानीय तहबाटै नीति निर्माण गरी कार्यान्वयन गर्नु जरुरी छ । यो दिशामा आ-आफ्नो ठाउँबाट अघि बढौं ।