काठमाडौँ । चालू आर्थिक वर्षको दुई महिनामा नै ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात हुँदा निर्यात भने ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको मात्र भएको छ । यस हिसाबले दुुई महिनामा नै २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजारको व्यापार घाटा भएको छ ।
गत वर्ष सोही अवधिमा १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख ६ हजार रुपैयाँको मात्र व्यापार घाटा भएको थियो । भन्सार विभागका अनुसार दुई महिनाभित्रमा गत वर्षको तुलनामा ८० प्रतिशतले व्यापार घाटामा वृद्धि भएको छ ।
गत वर्षको साउन र भदौको तुलनामा यसपालि ७६ प्रतिशतले आयात बढेको छ । गत वर्ष १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६८ हजार रुपैयाँको मात्र आयात भएको थियो । आयातसँगै निर्यात पनि वढेको छ । गत वर्ष २० अर्बको निर्यात भएकोमा यस वर्ष ४४ अर्बको निर्यात भएको छ । यो १ सय १५ प्रतिशतले बढी हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।
प्रतिक्रिया