ताजा अपडेट »

कांग्रेसको दोस्रो चरणको जागरण अभियान प्रदेश केन्द्रीत

विहीबार, १९ भदौ २०७६

भाद्र १९,
काठमाण्डौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे दोस्रो चरणको जागरण अभियान प्रदेश केन्द्रीत हुने भएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै वीपी कोइरालाको १०६औं जन्म जयन्तीका अवसरमा भदौ २४ गतेबाट सुरु हुने हिमाल, पहाड, तराई-मधेस (हिपतम) जागरणको दोस्रो चरणको अभियान ३३० प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रीत हुने जानकारी दिएका छन्। 

प्रवक्ता शर्माका अनुसार अभियानमा हरेक क्षेत्रमा एक नेताका दरले ३३० केन्द्रीय प्रतिनिधि खटिने छन्। १५ दिन सञ्चालन हुने अभियान असोज ७ गते सकिनेछ। यसअघि कांग्रेस ७७ जिल्लामा एक महिने जागरण अभियान सञ्चालन गरेको थियो। दोस्रो चरणको कार्यक्रम पनि स्वरुप छरितो हुने बताइएको छ। आसन ग्रहणको निश्चित संख्या (१ मिनेटभित्र आसन ग्रहण सकिने गरी), ठूला (केजीमा तौलिने) माला एवं व्याज रहित, वक्ता सिमित संख्या, बढी अन्तरक्रियात्मक (अभियानको दोस्रो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने कम सुन्ने बढी प्रकृतिका कार्यक्रम निर्धारित छन्। सभा केवल एउटा तय गरिएको छ अन्तिम दिन असोज ७ गते जिल्ला स्तरीय हुनेछन्।

कार्यक्रमको शुभारम्भ १०६ बिरूवा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षारोपण गरेर देशव्यापी रूपमा गरिनेछ। एकै दिन ३४ हजार ९८० विरूवा रोपेर अभियानको प्रथम दिन पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पुर्याइनेछ।