ताजा अपडेट »

इपीएल : विराटनगरविरूद्ध चितवन फिल्डिङ गर्दै

आइतबार, १० असोज २०७८

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको दोस्रो दिन आज (आइतबार) २ खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरास्ट्रिय खेल मैदानमा हुने चौथो संस्करणको दोस्रो दिन विराटनगर वारियर्स र चितवन टाइगर्स तथा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्दै छन् । 

बिहानीको पहिलो खेलमा विराटनगर वारियर्सविरूद्ध चितवन टाइगर्सले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकाे छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवनले टस जित्दै  करण केसीको कप्तानीमा रहेको विराटनगरलाई पहिला ब्याटिङको निम्तो दिएको हो । पहिलो खेलमा दुबै टोलीको लक्ष्य सुखद सुरुवात हुनेछ । दुबै टोलीलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडीको साथ रहनेछ । 

यस्तै दिउँसाे १:३० बजे सुरु हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज एक आपसमा आमने सामने हुने छन् । भैरहवा शरद भेषावकरको कप्तानीमा रहेको छ भने पोखराको विनोद भण्डारीले कप्तानी गर्ने छन् । शनिबारदेखि सुरु भएको इपीएलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं किंग्स इलेभनले कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सलाई ७ विकेटले पराजित गरेको थियो । इपीएलको विजेताले ५० लाख पुरस्कार पाउँदा उप विजेताले १५ लाख पाउने छ । प्रतियोगिता २३ असोज सम्म चल्नेछ ।