ताजा अपडेट »

चुनावी चटारोमा ट्रेकिङ व्यावसायी, सुवेदी र थापा बीच प्रतिष्पर्धा

विहीबार, १९ भदौ २०७६

भाद्र १९,
काठमाण्डौं । ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभा भोली २० भदौमा हुँदैछ । निर्वाचनमार्फत आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरिने हुँदा ट्रेकिङ व्यावसायीहरू यतिबेला चुनावी चर्चा र चटारोमा परेका छन् ।

यस वर्ष टानमा प्रजातान्त्रिक र प्रगतिशिल बाम घटकको २ प्यानल निर्वाचनमा होमिएको छ । १७ सदस्यीय कार्यसमितिलाई १३ सय २० मतदाताले मतदान गर्ने छन् । आफ्नो पक्षमा मतदाता रिझाउन दुवै पक्षका उम्मेदवारहरू दिलोज्यानले लागेका छन् । प्रजातान्त्रिक समूहबाट खुमबहादुर सुवेदी र बामपन्थी खेमाबाट अन्जन थापा अध्यक्ष पदका लागि भिड्दैछन् । ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमितिका लागि अध्यक्षका प्रत्यासी खुमबहादुर सुवेदी हाल वरिष्ठ उपाध्यक्ष हुन् । २०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्वतीय पर्यटन क्षेत्रमा प्रवेश गरेका सुवेदी टानको पूर्वकोषाध्यक्ष समेत हुन् ।

सुवेदी समूहबाट उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, सचिवमा प्रदिपकुमार घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सह–कोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ रहेका छन् । यस्तै, सदस्यहरूमा केशवप्रसाद दाहाल, खोमराज अधिकारी (सन्तोष), सिम्बिर घले, कान्छा शेर्पा, सोनाम ग्याल्जेन शेर्पा, रविन्द्र महर्जन, सनम शेर्पा, तेन्जिङ शेर्पा, बुद्धकुमारी अधिकारीले मनोनयन दर्ता गरेका छन् ।

उता बामपन्थी समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका अन्जन थापा आशाही ट्रेक्स एण्ड एक्पिडिसन प्रालिका संचालक हुन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका खहरेमा जन्मिएका थापा पोर्टर, गाईड हुँदै व्यावसायी बनेका व्यक्ति हुन् । नेकपानिकट थापा प्यानलले वरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देवकोटा, द्वितीय उपाध्यक्षमा तेन्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेक खकुराल र सह–कोषाध्यक्षमा प्रदिप पण्डितले मनोनयन दर्ता गरेका छन् । त्यस्तै सदस्यमा रघु पौडेल, मिङ्मा शेर्पा, ङिमादिकी शेर्पा, सुनिल सिलवाल, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर लामा, रघुनाथ पौडेल, रामबहादुर गुरुङ, श्रीराम अधिकारी, मिङ्मा शेर्पा र ठाकुर सापकोटाले मनोनयन दर्ता गरेका छन् ।