काठमाडौँ । युरोपको सबैभन्दा बढी जनसंख्या भएको देश मध्ये एक जर्मनीमा आज आम निर्वाचन हुदै छ ।यस निर्वाचनले जर्मनीमा नयाँ नेतृत्व चयन गर्ने हुनाले पनि जर्मनीको चुनाव अहिले चर्चाको केन्द्रमा रहेको छ ।
पछिल्लो १६ बर्षदेखि जर्मनीमा सरकारको नेतृत्व अग्रिरहेकी चान्सलर एंगेला मर्केल अब राजनीतिक रुपमा सक्रिय नहुने निर्णय गरेकी छन् । विश्वकै शक्तिशाली महिलाको रुपमा रहेकी मर्केलपछि अब जर्मनीको नेतृत्व कसले गर्छ भन्ने कौतुहलता अहिले बढेको छ ।
कुल ८.३ करोड जनसंख्या रहेको जर्मनीमा ६.०४ करोड मतदाताले आज जर्मनीको संसद बुण्डेसटागका लागि मतदान गर्दै छन् ।
बुण्डेसटागमा ७०९ सांसदका लागि निर्वाचन हुदै छ । जसमा ५९८ सिटमा प्रत्यक्ष निर्वाचन हुदै छ भने १११ सिटमा समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छ ।
अहिले जर्मनीको चान्सलर पदका लागि मर्केलको पार्टी क्रिश्चियन डेमोक्रेटिक पार्टीका आर्मिन लाशेट, सोसल डेमोक्रेटिक पार्टीका ओलाफ शाल्त्स, ग्रिन्स पार्टीकी अनालेना बेयरबाकबीच प्रतिष्पर्धा हुदै छ ।चुनावअघिका सर्वेक्षणहरुले निर्वाचनमा कडा प्रतिष्पर्धा हुने देखाएका छन् ।
बहुमतको लागि ३५५ सिट आवश्यक पर्ने बुण्डेसटागमा २०१७ को आमनिर्वाचनमा मर्केलको पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियनले २४६ सिटमा जित हासिल गरेको थियो । त्यस्तै सोसल डेमोक्रेटिक पार्टीले १५३ सिट जितेको थियो भने अल्टरनेटिभ फर जर्मनी पार्टीले ९४ सिटमा जित हासिल गरेको थियो ।
प्रतिक्रिया