ताजा अपडेट »

गुल्मीको रेसुङ्गामा जनप्रतिनिधि बीच विवाद, कार्यालयमा तालाबन्दी

विहीबार, १९ भदौ २०७६

भाद्र १९,
ग्लोबल आवाज
बुटवल । गुल्मीको रेसुङ्गा नरपालिकामा जनप्रतिनिधिले नै तालाबन्दी गरेपछि हिजो बुधबारदेखि काम काज ठप्प भएको छ । नगरपालिकाका सात जना वडाध्यक्ष तथा तीनजना कार्यपालिका सदस्यले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

नगरप्रमुख डिल्लिराज भुषाल र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको कार्यकक्षमा तालाबन्दी गरिएको हो । महेन्द्र नमुना माध्यमिक विद्यालयमा हुने कक्षा १२ को स्तरोन्नतीसम्बन्धी परिक्षामा केन्द्राध्यक्षको विषयमा नगरपालिकामा तालाबन्दी गरिएको हो । साथै नगरपालिकाको निर्णय गुपचुप राखिएको, एकलौटि ढङ्गबाट नगरपालिकाका काम अगाडी बढाइएको लगायतका विषयमा नगरपालिकामा तालाबन्दी गरिएको वडा नम्बर २ का अध्यक्ष उदय थापाले ग्लोबल आवाजलाई बताए । रेसुङ्गा नगरपालिकास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समितिको गत साउन ९ गते बसेको प्रध्यानाध्यापक नियुक्तिसम्बन्धी निर्णय नगरपालिकाले खारेज गरेको थियो । उक्त निर्णयविरुद्ध विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यले नै उजुरी दिएपछि नगरपालिकाले उक्त निर्णय सच्याएर रित अनुसार गर्न निर्देशन दिएको मेयर डिल्लिराज भुसालले जानकारी दिए । विद्यालयले यूवराज ज्ञवालीलाई नियुक्ती गरेकोमा कानून अनुसार नभएको उजुरी परेपछि विद्यालय अभिभावक संघ, व्यवस्थापन समिति लगायतको उपस्थितीमा नै छलफल गरी निर्णय गरिएको नगरापालिकाका कार्यालय प्रमुख भक्तिराम मरासीनीले बताए । निर्णय खारेज गरेसँगै प्रध्यानाध्यापकमा केशर बहादुर थापालाई पुर्नबाहली गरिएको थियो ।

ज्ञवालीलाई विधान र कानुन विपरित विद्यालय व्यवस्थापन समितिको अध्यक्षले आफु निकटको व्यक्तिलाई प्रध्यानाध्यापकमा नियुक्त गरिएको भन्दै शिक्षक अभिभावक संघका सदस्य कुलदिप थापा र विद्यालय व्यवस्थापन समिति सदस्य विजय लक्ष्मी बस्नेतले रेसुङ्गा नगरपालिकाको कार्यालयमा उजुरी दिएका थिए । ‘हिजोदेखि कार्यालयमा ताला बन्दी गर्दा पनि अहिले सम्म हामीलाई कुनै फोन तथा छलफलका लागि जानकारी आएको छैन ।’ वडा नम्बर २ का अध्यक्ष थापाले भने उहाँहरुले हामीलाई नटेरेर नै यस्तो गरेको हो । हाम्रो माग पुरा नहुँदासम्म तालाबन्दी जारी रहन्छ । आज विहान प्रहरी प्रशासनको सहयोगमा ताला खुलाउने प्रयास गरिए पनि पुनः ताला लगाइएको नगरापालिकाका कार्यालय प्रमुख मरासीनीले बताए । कार्यपालिका भित्रको आन्तरिक विषय भएको बताउँदै उनले सहमतिमा नै छिट्टै ताला खुल्ने विश्वाष व्यक्त गरे ।

उता, नगरपालिकाका मेयर लिल्लीराज भुसालले भने आफु उपचार लगायत अन्य कामले आईतबारदेखि काठमाण्डौं रहेको बताउँदै तालाबन्दी बारे आफूलाई औपचारिक रुपमा कुनै पनि जानकारी नआएको बताए । नगरपालिकाका हरेक क्रियाकलाप कानून् सम्बत्नै अगाडी बढाइएको दाबी गर्दै उनले कार्यपालिकामा ताला लगाउँदैमा कुनै निर्णय फेर्न नमिल्ने बताए । यस अघि नगरपालिकामा आयोजना हुने व्यपार महोत्सव आयोजनाका लागि छलफल विना नै उद्योग वाणिज्य संघलाई महोत्सव आयोजना गर्न दिने लगायतका निर्णयहरुमा समेत छलफल नै नगरी एकलौटी गरिएको वडा नम्बर २ का अध्यक्ष थापाले आरोप लगाए ।