बुटवल । नागरिक लगानी कोषले बुटवलबाट सेवा शुभारम्भ गरेको जानकारी गराएको छ । गत श्रावणबाट लुम्बिनी प्रदेशमा शाखा सञ्चालन गरेको कोषले शुक्रबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा जानकारी गराएको हो । २ महिना अगाडिनै बुटवलबाट सेवा सुरु गरेपनि कोभिडका कारण कुनै कार्यक्रम नगरिएको बताउँदै शुक्रबार औपचारिक कार्यक्रम गरी जानकारी गराइएको कोषले जनाएको छ ।
कार्यक्रममार्फत कोषले शाखा शुभारम्भ र सेवा बारे विस्तृत रुपमा जानकारी गराएको हो । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश सरकारका मुख्यसचिव डिल्ली राज शर्माले कर्मचारीहरुको लगानी सही क्षेत्रमा लगानी गरी सुरक्षाको अनुभूति दिलाउन आग्रह गर्दै मध्यम तथा निम्न वर्गका नागरिकहरुलाई पनि समेट्न सुझाए । उनले भने ‘ लगानी कोषले कर्मचारीले बचाएको रकमको सही सदुपयोग गर्नु पर्दछ । साथै कोष सबै वर्गका नागरिका लागि बनाएर अघि बढ्नुहोस् ताकि सबैलाई बचत र लगानीसँगै आफ्नो सुरक्षाको अनुभूति होस् । एकिकृत पूँजी धेरै र सबै नागरिकलाई सेवा पुग्ने क्षेत्रमा लागनी गर्नुहोस्।’
कार्यक्रममा कोषका निर्देशक रमण नेपालले संघीयताको मोडलअनुसार सातै प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने कार्यक्रम अगाडि बढाएको बताउँदै लुम्बिनी प्रदेशपछि कैलाली,सुर्खेत, र दुई नम्बर प्रदेशमा कार्यालय खोल्ने तयारी रहेको जनाए । ‘नागरिक लगानी कोषले सातै प्रदेशबाट सेवा दिने लक्ष्य राखेको छ । लुम्बिनी पछि अन्य प्रदेशमा विस्तार गर्दै छौं । कोषले संकलित पूँजी कम जोखिम भएको क्षेत्रमा लगानी गरेर नागरिक लगानीलाई सुनिश्चित गरेको छ । वातावरण अनुसार हामी फरक क्षेत्रमा लगानी गर्नेछौं ।’ निर्देशक नेपालले भने।
बुटवलमा नागरिक लगानी कोषको स्थापना र सेवा शुभारम्भ बारे जानकारी दिने कार्यक्रममा विभिन्न निकाय,तहका कर्मचारी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रम नागरिक लगानी कोष बुटवलका प्रमुख जयप्रकाश शाहको अध्यक्षता र लुम्बिनी प्रदेश सरकारका मुख्यसचिव डिल्ली राज शर्माको प्रमुख आतिथ्यतामा भएको थियो ।
प्रतिक्रिया