भैरहवा । प्यूठान झिमरुकका हुन आयुष मल्ल । उमेरले २ वर्ष पनि नपुगेका आयुष शुक्रबार भैरहवामा रहेको लुम्बिनी नेत्रबिज्ञान अध्ययन संस्थान एण्ड रिसर्च सेन्टरले सञ्चालन गरेको आँखा अस्पतालबाट डिस्चार्ज भएका छन् । अहिले देखिएको आँखा सम्बन्धि जटिल समस्या “शापु” बाट संक्रमित भएका उनको सफल उपचार पछि स्वस्थ्य आँखा पाएर घर फर्कि रहेका थिए ।
३ दिन पहिला उनको आमा रुबिना मल्लले आफ्नो बाबुको आँखा रातो भएको देखिन । उनले ढिलो नगरि स्थानिय अस्पतालमा चेक गराए पछि त्यहाका चिकित्सकले शापुको आशंकामा भैरहवामा रहेको आँखा अस्पतालमा पठाए । समयमै भैरहवा आईपुगेका आयुष अहिले शापु जितेर घर फर्किएका छन् । “समयमै आँखा चेक गराएकोले मेरो छोरोको ज्योती जोगियो ।” रुबिनाले भनिन् “ अहिले पहाडी जिल्लामा यस्तो आँखा पाक्ने रोग धेरै देखिएकोले हेलचेक्रयाई गर्न भएन, समयमै अस्पताल पुग्नु प¥यो ।”
भैरहवा आँखा अस्पतालमै सन्धिखर्कको ९ बर्षिय विविशा विश्वकर्माको अहिले उपचार भै रहेको छ । ५ दिन अघि उनको आँखामा पनि समस्या देखिए पछि स्थानिय अस्पताल हुदै उनि पनि आमा सरस्वता विश्वकर्मासंगै भैरहवा आएकी हुन । उनको आँखाका शापुको समस्या देखिएको र आँखामा पिप भरिएका कारण शल्यक्रिया गरि उक्त पिप निकालिएका छ । अहिले विविशा पनि सन्चो भएर घर फर्किने तयारीमा छिन । “ राती सुतेकी छोरीको आँखा रातो भए पछि सन्धिखर्ककै अस्पतालमा चेक गराए ।” सरस्वताले भनिन “डाक्टरले शापु पुतली छोएको भन्दै तत्काल भैरहवा लैजान भने पछि ८ हजारको गाडी रिजर्व गराएर भैरहवा आईपुगेकी छु ।”
यी दुवै जना बालबालिकाको हकमा उनिहरुको परिवारले आँखा रातो भएर तत्काल उपचार प्रक्रियामा लगकोले दुवैका आँखा जोगिएको छ ।रहस्यमयी रोग “शापु” को प्रभावमा अहिले पहाडी भागमा रहेको बालबालिका प्रभावित भएका छन् । रोगको उमेर हद नभए पनि संक्रमित मध्ये करिब ९० प्रतिशत बालबालिका नै रहेको यसमा संलग्न नेत्र चिकित्सकहरुको भनाई छ । रहस्यमयी यस अर्थमा कि यो रोग देखिएको ४५ बर्ष बितिसक्दा पनि यसको ठोस कारण अहिले सम्म यकिन गर्न सकिएको छैन । लुम्बिनी नेत्रबिज्ञान अध्ययन संस्थान एण्ड रिसर्च सेन्टरका चिफ मेडिकल डाइरेक्टर एवम रेटिना बिशेषज्ञ प्रध्यापक डाक्टर ज्ञानेन्द्र लामिछानेका अनुसार सेतो पुतलीले सम्पर्कमा आएकालाई संक्रमण हुने भनिए पनि अझै खास कारण खुल्न सकेको छैन । अझ यो रोग प्रत्येक एक बर्ष बिराएर भदौ देखी कार्तिक महिनामा देखिनुले पनि यसलाई रहस्यमयी बनाएको छ ।
यो समस्या तराईमा र हिमाली क्षेत्रमा नभई पहाडी क्षेत्रमा मात्रै देखिएको छ । अझ लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान र सबै भन्दा बढी गण्डकी प्रदेशको बाग्लुङ्गमा देखिएको लामिछानेको भनाई छ । यस बाहेक अन्य पहाडी जिल्लाहरुमा पनि यो रोग देखिन थालेको छ । लुम्बिनी नेत्रबिज्ञान अध्ययन संस्थान भैरहवामा मात्रै १६ जना यो रोगका बिरामी देखिएका छन् । जसमध्ये १२ जना उपचार पछि फर्किएका छन भने ४ जना अझै उपचारको क्रममा रहेको संस्थानले जनाएको छ ।
यो रोगलाई अहिले सम्मकै सबैभन्दा बढी आँखा खराब गर्ने रोग भनिएको छ । संक्रमण भएको प्रत्येक घण्टा आँखाका दृष्टि कम हुदै गई २४ देखी ४८ घण्टा भित्र नै दृष्टि पूर्ण रुपले गुम्न सक्ने भएकोले यसबारे प्रयाप्त सचेतना फैलाउन आवश्यक रहेको संलग्न चिकित्सकहरु बताउछन् ।हालसम्म सेतो पुतली(मोथ)लाई शापुको कारण मानिएको छ तथापी कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरुलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ ।
एक्कासी एउटा आँखा रातो भएमा शापुको आशंका गर्न सकिन्छ । यद्दपी आँखा रातो हुनु नै शापु नभएपनि यस्तो भए आँखा चेकजाँच गर्न चिकित्सकको सुझाव छ । यस अतिरिक्त आँखा रातो भए पनि चिप्रा नलाग्नु, उज्यालोमा हेर्न नसक्नु, आँखाको दृष्टिमा तत्कालै कमी हुनु, आँखाको दुखाई सामान्य वा बढी हुनु, उपचारमा ढिला भएमा कालो नानीमा सेतो देखिनु यो सबै शापुको लक्षण हुन । शापु रोग लाग्नबाट बच्नका लागि सेतो पुतली (मोथ)को संसर्गबाट टाढै रहन चिकित्सकको सुझाव छ । राती सुत्दा बत्ती निभाएर सुत्ने, झूलभित्र मात्रै सुत्ने र सेतो पुतलीको सम्पर्कमा आए साबुन पानीले राम्ररी हाथ धुनु पर्ने लामिछानेको भनाई छ ।
लुम्बिनी नेत्रबिज्ञान अध्ययन संस्थान एण्ड रिसर्च सेन्टरमा शापुका बिरामी बढ्दै गए पछि अहिले अस्पतालले अहिले यसबाट जुध्न स्पेशल टास्क फोर्स नै बनाएको छ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले प्रत्येक घण्टा बिरामीको अवलोकन गर्नु पर्ने भएकोले बिशेषज्ञ चिकित्सकको स्पेशस टास्क फोर्स गठन गरिएको जानकारी दिए । राणाले अस्पताल आउनु भन्दा पनि यसको बारेमा सचेतना फैलाई यसको रोकथाम नै प्रमुख भएको बताए । उनले यस बिषयमा संस्थानले पनि काम गरि रहेको जानकारी दिए ।
प्रतिक्रिया