ताजा अपडेट »

बुटवलले अघिल्लो वर्ष पूरा नगरेका योजना असोज मसान्तसम्म सक्ने

विहीबार, ०७ असोज २०७८


बुटवल । बुटवल उपमहानगरपालिकाले अघिल्ला वर्षहरूमा तयार पारेका योजनाहरुलाई यहि असोज मसान्तसम्म सक्ने गरी काम अगाडि बढाएको छ । कोरोनाको कारणले अघिल्लो वर्ष तयार गरेका र पूरा नभएका योजनाहरुलाई असोज महिनाको मसान्त सम्ममा सक्ने दाबी गरेको हो।

बुटवल उपमहानगरपालिकाको मासिक नियमित पत्रकार सम्मेलनमा बोल्दै उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले योजनाहरूको काम द्रुतगतिमा अगाडि बढेको बताउँदै अहिलेसम्म पिच गर्ने बाहेकका ५० प्रतिशत योजनाको काम सकिएको जानकारी दिए। उनले वर्षाको समयमा पिच गर्न नमिल्ने भएकोले त्यो काम रोकिएपनी वर्षा रोकिदासाथ पिचका कामहरु सञ्चालन हुने र योजना सकिने बताए।

उनले कोभिडको समस्या आउने वर्षहरुमा पनि देखिन सक्ने बताउँदै भदौदेखि नै योजनाहरुका उपभोक्ता समिति गठन लगाएतका कामहरु सञ्चालन गरिएको बताए। अघिल्लो वर्ष मंसिरमा सुरु भएको उपभोक्ता समिति गठनको काम यो वर्ष भदौमा नै सुरु भएकोले धेरै योजनाहरु अर्को वर्ष सर्नु नपर्ने उनको तर्क छ। आर्थिक वर्ष २०७८/८९मा क्रमागत भइआएका योजना २८५ वटा थिए, जसमध्ये भाद्र मसान्तसम्म २९० वटा योजना सम्पन्न भइसकेका छन्।