ताजा अपडेट »

नादेझ्दा कपका लागि महिला राष्ट्रिय फुटबलको १८ खेलाडी छनोट

बुधबार, १८ भदौ २०७६

भाद्र १८,
बुटवल । किर्गिस्तानमा आयोजना हुने नादेझ्दा कपमा सहभागीता जनाउन नेपाली महिला राष्ट्रिय फुटबलको १८ सदस्यीय टोली घोषणा भएको छ । प्रतियोगिताको नियमानुसार १८ खेलाडी मात्र माग भएपछि प्रशिक्षक हरि खड्काले यसअघि घोषणा गरिएको ३२ सदस्यीय टोलीबाट अन्तिम टिमको टुंगो लगाएका हुन् ।

नेपालले नादेझ्दा कपमा लगातार तीन दिन समूह चरणका खेल खेल्दैछ । नेपालले सेप्टेम्बर ८ मा आयोजक किर्गिस्तान, सेप्टेम्बर ९ मा उज्बेकिस्तान र सेप्टेम्बर १० मा ताजिकिस्तानको सामना गर्नेछ । सेप्टेम्बर १२ मा तेस्रो स्थान र उपाधि भिडन्तको खेल हुनेछ ‌। नेपाली टोली बिहीबार किर्गिस्तानतर्फ प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार टोलीलाई बिदा गरेको छ । बिदाईमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ लगायत अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।