भदौ १६,
ग्लोबल आवाज
बुटवल । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज पर्व आज देशभर मनाइँदैछ । तीज अन्तर्गत मुुख्य तथा दोस्रो दिन आज देशभरका महादेवको मन्दीरमा पूजा आराधना गरी यो पर्व मनाइँदैछ । यस क्षेत्रका शिवालयहरु पर्रोहा पर्मेश्वर बोलबमधाम,मुक्तिधाम ,सिद्धबाबा,निलकण्ठ धाम लगाएतका शिवालयहरुमा विहानैदेखि पूजा–आज गर्ने नारीहरुको भिड लागेको छ भने आज देशैभरका शिवालयमा पूूजा–आज हुँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । व्रतसँगै आजको दिन नारीहरुले नाचगान गरेर धुमधामसँग यो पर्व मनाउँदैछन् ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ ।
यो व्रत सक्नेले निराहार बस्ने भएकाले आइतबार व्रतालुहरुले मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेष गरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान छ ।महिलाहरुले वर्ष्दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत उपयोग गर्ने गरेका छन् ।
तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्दछन् । आइतबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म अर्थात भोली मंगलबारसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
प्रतिक्रिया