भैरहवा । रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस उम्मेदवार परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चुनाव प्रचारप्रसार समिति नेपाली कांग्रेस सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा नगर सभापतिका उम्मेदवार संजीब शर्मा रेग्मीको नेतृत्वको प्यानल घोषणा गरिएको छ ।
रेग्मीको नेतृत्वमा उपसभापतिमा गौरब श्रेष्ठ, घनश्याम यादव, सचिवमा सम्राट थापा, टिकाराम भट्टराई, सह–सचिवमा ओजश शर्मा र प्रतिक भण्डारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । २०४६ को जनआन्दोलनदेखि अनवरत रुपमा पार्टीमा क्रियाशील र पार्टीले समयसमयमा दिएको जिम्मेवारी पुरा गरेको भन्दै आसन्न अधिवेशनमा संजीब शर्मा रेग्मी नेतृत्वको प्यानललाई विजय गराउन उम्मेदवारी दिने घोषणा गरेका नेताहरुले आग्रह गरे ।
कार्यक्रममा नगर सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका रेग्मीले नगर समिति रही कोषाध्यक्ष र सचिवको जिम्मेवारी सम्हाल्दै सभापतिमा उम्मेदवारी दिन थालेको बताए । उनले यस अघिका अधिवेशनमा कोषाध्यक्षमा फराकिलो अन्तरले र सचिवमा निर्विरोध निर्वाचित भएको जानकारी गराउँदै कांग्रेसलाई सिद्धार्थनगरमा थप सशक्त र मजबूत बनाउन आफूले उम्मेदवारी दिन लागेको बताए । उनले आगामी स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिका प्रमुख, उपप्रमुखसहित बहुमत कांग्रेसबाट उम्मेदवारी दिने जनप्रतिनिधिलाई जिताउने गरी अगाडी बढ्ने बताए । ‘मैले सभापतिको जिम्मेवारी सम्हालेपछि जनप्रतिनिधिको रुपमा अगाडी बढ्दैन, कांग्रेसको आधिकारिक उम्मेदवारीलाई जिताउन अहोरात्र लागिपर्नेछु, ’उनले भने । कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थालाई थप सशक्त बनाउन समेत लागिपर्ने उनले दावी गरे ।
अधिकांश क्षेत्रीय प्रतिनिधिको साथ सहयोग रहेकोले आफ्नो नेतृत्वको प्यानलले जित्ने उनले दावी गरे । पार्टीमा सेवा गर्न आएको उनले बताए । कांग्रेस महासमिति सदस्य तथा संविधानसभा सदस्य इस्तियाक अहमद खानले कांग्रेस एउटै परिवार भएकाले मिलेर अगाडी बढ्नुपर्ने बताए । उनले कांग्रेसलाई आगामी तीनै तहका निर्वाचनमा जिताउन पार्टीका सम्पूर्ण नेता कार्यकर्ता एकढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मात्रिका प्रसाद यादवले सहमतिको प्रयास गर्नुपर्ने बताए । उनले पार्टीभित्रका नेता कार्यकर्ताहरु एकताबद्ध भएर जानुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेशसभा सदस्य रमा अर्यालले अधिवेशनमा चुनावी प्रतिष्पर्धा भए पनि आरोप प्रत्यारोपमा नउत्रिन आग्रह गरिन् । यस्तै नेपाली कांग्रेस रुपन्देही जिल्लाका आमन्त्रित सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले कांग्रेसभित्र स्वच्छ प्रतिष्पर्धा हुनुपर्ने बताए । कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ (१)का सभापति पुरन प्रसाद श्रेष्ठले आन्तरिक प्रतिष्पर्धा भएकाले आरोप प्रत्यारोपमा नउत्रिन आग्रह गरे । चुनाव प्रसार समिति, नेपाली कांग्रेस सिद्धार्थनगर, रुपन्देहीका संयोजक निरज शर्माको सभापतित्व, कांग्रेस रुपन्देही पूर्व जिल्ला सभापति रामचन्द्र ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
११ बुदे प्रतिबद्धता
यसैबीच संजीब शर्मा रेग्मी नेतृत्वको प्यानलले १३ बुदे प्रतिबद्धता व्यक्त गरे । उक्त प्यानलले उम्मेदवारी दिनुका कारण प्रस्तुत गर्दै विभिन्न प्रतिबद्धता व्यक्त गरेको हो । कांग्रेसलाई सिद्धार्थनगरमा थप सशक्त र मजबूत बनाउन, पार्टीलाई स्थानीय, प्रदेश र संघको चुनावमा एकताबद्ध भएर बहुमतका साथ निर्वाचित गराउन, नगर वडा समितिलाई मजबुत बनाउन, भातृ संस्थाहरुलाई सबल, सक्षम र मजबुत बनाइ प्रभावकारी रुपमा अगाडी बढाउन, कांग्रेसका शुभेच्छुक संस्थामा आबद्ध सदस्यहरुको मनोबल उच्च बनाइ पार्टीको हितमा अगाडी बढाउन, पार्टीको विधानले तोकेको समितिहरु गठन गरी संगठन विस्तार गर्न र आवश्यकता अनुुसार विभागहरु गठन गरी पार्टीको प्रत्येक सदस्यहरुलाई जिम्मेवार बनाउन उम्मेदवारी दिने संजीव शर्मा रेग्मीले बताए ।
त्यस्तै पार्टी संगठनमा लागेका अग्रजहरुको सम्मानका साथ उचित भूमिका दिन, आम जनसरोकारको विषयमा पार्टीको तर्फबाट सशक्त रुपमा आवाज उठाउन, पार्टीका सदस्यहरुको मनोबल सदैव उच्च राख्न तथा सामूहिक नेतृत्व र निर्णय प्रणालीको विकास गर्ने रेग्मी नेतृत्वको प्यानलले प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया