ताजा अपडेट »

बौद्ध धर्ममा २६ सय वर्ष अघि नै नारी पुरुष बराबर

मंगलबार, ०५ असोज २०७८

भैरहवा । भदौ शुक्ल पक्षको पूर्णिमा । बौद्ध धर्ममा यसलाई बिशेष महत्वको दिनको रुपमा लिईएको छ । बुद्ध धर्मले आजभन्दा दुई हजार ६ सय वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको दिन हो । समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको दिवसको रुपमा आजको दिनलाई मनाउने गरिएको छ ।

भगवान गौतम बुद्धको आमा प्रजापति गौतमी सहित आजकै दिन ५ सय जनलाई महिलालाइ भिक्षुणी बनेको दिनको सम्झना स्वरुप आजको दिनलाई भिक्षुणी दिवसलाई मनाउने गरिएको छ । अन्र्तराष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महस्थबिरले आजको दिनलाई बुद्ध शासनमा पनि भिक्षुणी शासन भएको दिनको रुपमा मनाउने गरिएको बताउछन । लुम्बिनी बिकास कोषका अध्यात्मिक सल्लाहकारको रुपमा समेत रहेको भिक्षु मैत्रीका अनुसार बुद्ध धर्ममा पहिलो भिक्षुणीको रुपमा महाप्रजापति गौतमीलाई लिने गरिएको छ । महाप्रजापति गौतमी भनेको भगवान गौतम बुद्ध जन्मेदेखी नै उनलाई लालन पालन गर्ने महामाया देवीको बहिनी हुन । महामाया गौतमीको बुद्धलाई जन्म दिएको ७ दिन पछि नै मृत्यु भएको कारण महामायाको बहिनी महाप्रजापति गौतमीले नै बुद्धको लालन पोषण गरेकी थिईन । गौतमबुद्ध बुद्धत्व प्राप्त गरिसकेपछि उनको बुवा शुद्धोधन अशक्त बिरामी हुदा उनलाई भेटन कपिलवस्तु आएका थिए । अशक्त अवश्थामा रहेको शुद्धोधनको मृत्यु भएको र आफ्ना सबै सन्तान भिक्षु भनेपछि महाप्रजापति गौतमीले पनि बुद्धलाई भिक्षुणी बनाउन आग्र गरिन । तर बुद्धले उनको आग्रह स्विकार गरेनन् । कपिलवस्तुको निग्रोधराममा ३ पटक सम्म बुद्धलाई भिक्षु बन्न आग्रह गर्दा पनि बुद्धले मानेनन् ।

यता तत्कालीन कोलिय र शाक्य राज्य छुट्टयाउने रोहिणी नदिको पानीको प्रयोगको बिषयमा शाक्य र कोलियहरु बिच झै झगडा हुने गरेको थियो । भगवान गौतम बुद्धले “तिमीहरुलाई पानीको महत्व धेरै कि रगतको महत्व धेरै” भन्दै सम्झाए पछि तत्कालीन समयमा त्यो झगडा साम्य भयो । यसै क्रममा बुद्धले शाक्य राज्यबाट २ सय ५० जना र कोलिय राज्यबाट २ सय ५० जना गरि ५ सय राजकुमारलाई भिक्षु बनाएर आफुसंगै भारतको बैशाली लिएर गए । शाक्य र कोलिय राज्यका ५ सय जना राजकुमार भिक्षु बनेपछि उनिहरुको पत्नीहरु पनि अब एक्लै नबस्ने बताउदै आफुहरुलाई पनि भिक्षु बनाउने आग्रह सहित महाप्रजापति गौतमीलाई भेट्न पुगे । यता बुद्धलाई ३ पटकसम्म आग्रह गरि सकेकी महाप्रजापति गौतमीलाई पनि यो एउटा अवसरको रुपमा रह्यो । तर त्यति समय सम्म भगवान गौतम बुद्ध बैशाली पुगी सकेका थिए । अन्ततः सबै जना बैशाली नै गएर बुद्धलाई भिक्षु बनाउन आग्रह गर्ने निर्णय सहित कपिलवस्तुबाट केश मुण्डन गराएर, चिबर धारण गरेर करिब ५२ योजन (एक योजन बराबर ४ कोश) टाढा रहेको बैशाली पुगे । बैशाली पुगेर सोझै गौतम बुद्ध बस्ने स्थानमा नगई केही दुरीमा नै बसे । भिषण गर्मिमा कहिले पनि बाहिर ननिस्केका राजकुमारीहरुको बिजोग देखेर गौतम बुद्धका शिष्य आनन्दले उनिहरु भिक्षु बन्न आएको बताउदै बुद्धलाई उनिहरुलाई भिक्षुणी बनाउन आग्रह गरे, तर बुद्धले मानेनन् । “ म भिक्षुणी शासन चाहन्न ” भन्ने गौतम बुद्धको जवाफ रहेको भिक्षु मैत्रीको भनाई छ ।

त्यसपछि आनन्दले “पुरुषहरुले शोधापत्ति, अनागामी, अरहन्त हुन सक्छ भने महिला किन हुन नसक्ने ” भन्दै गौतम बुद्धलाई प्रतिप्रश्न गरेपछि गौतम बुद्धले यी सबै हुन सक्ने भए पनि वहाहरुलाई भिक्षुणी शासन दिन सकिन्न भनेर जवाफ दिए । बुद्धले भिक्षुणी बनाउन एउटा शर्त राखे यदि उहाहरुले ८ वटा गरुधर्म मान्नु पर्ने । यो शर्त सबैले सहर्ष स्विकार गरे । यो धर्म अनुसार सबै भिक्षुणी बराबर हुन्छन् । अर्थात पूरानो भिक्षुणीले पनि भर्खर बनेको भिक्षुणीलाई उत्तिकै सम्मान दिनु पर्ने लगायत रहेका छन् । गौतम बुद्धले राखेको शर्तहरु मानेर प्रजापति गौतमीले भिक्षुणी बन्न स्विकार गरे पछि बुद्धले नै उनलाई चिबर प्रदान गरेर भिक्षुणी बनाएको र अन्यलाई देशनाको माध्यमबाट भिक्षुणी बनाए ।

यसरी भिक्षुणी बनेको केही समयपछि प्रजापति गौतमीले आफु भन्दा पछि आउने भिक्षुणीहरुलाई सम्मान गर्न नसकेपछि थेरावाद भिक्षुणी शासन ४–५ बर्षपछि नै पतन भएर गएको अन्र्तराष्ट्रिय बौद्ध समाजका अध्यक्ष भिक्षु मैत्री महास्थबिरको भनाई छ । त्यसपछि भिक्षुणीहरुलाई अनागारिका भन्ने गरिएको छ । अहिले अनागारिका र शिलमाताहरु हुनुहुन्छ । “थेरावादमा अहिले बर्मा, थाईलैण्ड, श्रीलंका, बर्मा लगायतका देशमा भिक्षुणी शासन भनेर मानिदैन अहिले उहाहरुलाई कतै अनागारिका र कतै शिलमाता भनेर भनिन्छ ।” भिक्षु मैत्रीले भने ।