ताजा अपडेट »

भारतीय पर्यटकसंग अवैध असुली गर्ने प्रहरी र ब्यवसायी नियन्त्रणमा

मंगलबार, ०५ असोज २०७८

भैरहवा । भारतबाट नेपाल आएका पर्यटकसंग अवैध रकम लिएर नेपाल छिराएको आरोपमा पर्यटन ब्यसायी र एक जना प्रहरी जवानलाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।आईतबार भारतबाट काठमाण्डांैमा रहेको पशुपतिनाथ मन्दिर भ्रमणका लागी आएका पर्यटकलाई बेलहियामा रहेको गुजरात ट्राभलको कर्मचारीले अवैध रकम लिएर नेपाल छिराएका थिए । गुजरात ट्राभल्स मार्फत नेपाल आएका पर्यटकलाई सिमा बन्द भएको बताउदै ट्राभल्सका कर्मचारी सन्तोष देवले प्रहरीलाई घुस दिनु पर्ने बताउदै ५ सय भारु थप माग गरेका थिए ।

८ जनाको संख्यामा रहेका भारतीय पर्यटकले ४ हजार भारु बुझाएर नेपाल गएका थिए । नेपालको काठमाण्डौं पुगेका पर्यटक पूर्व सभामुख चित्रलेखा यादवले चिनेजानेका थिए । उनिहरुले यादवलाई आफुहरुबाट सिमामा अतिरिक्त रकम लिएको भन्ने गुनासो गरे पछि यादवकै यो घटना बाहिर आएको हो ।

प्रहरीको माथिल्लो निकायबाट नै दबाव आएपछि रुपन्देही प्रहरीले अबेर राती गुजरात ट्राभल्समा काम गर्ने सन्तोष देवलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बेलहियामा प्रमुख प्रहरी निरिक्षक नविन पौडेलले देवलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाएको बताएका छन् । उनिसंगै ईलाका प्रहरी कार्यालयमा एक जना प्रहरी जवानलाई पनि जिल्ला प्रहरी कार्यालय पठाईएको छ ।

कोभिडको कारण बन्द रहेको सिमा अहिले सम्म सुचारु नहुदा प्रहरी र ट्राभल एजेन्टको मिलेमतोमा भारतीय पर्यटक र सर्वसाधारण बेलहिया मूख्य नाकाबाटै निर्वाध नेपाल भित्रिरहेका छन् । पर्यटकसित रकम लिएर नेपाल भित्रयाएको घटना बाहिर आएपछि अहिले प्रहरी र पर्यटन ब्यवसायी बिच खैलाबैला नै मच्चिएको छ ।