ताजा अपडेट »

नाफामा रहेको सर्वोत्तमको आइपिओ आउँदै,गतवर्ष भन्दा एक अर्ब बढी

शनिबार, १४ भदौ २०७६

भदौ १४,

काठमाडौं। तीन वर्षदेखि लगातार नाफामा रहेको सर्वोत्तम सिमेन्टले ३६ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ।प्राथमिक शेयर निष्कासन गर्न कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरणको प्रकृया सुरु गरिसकेको छ।कम्पनीले शेयर निष्काशनका लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरिसकेको छ।कम्पनीले सकेसम्म चालु आर्थिक वर्षभित्रै शेयर ल्याउनेगरि तयारी भएको जनाएको छ। कम्पनीले भनेजस्तै प्रकृया चाँडै भएमा सिमेन्ट उद्योगमा शिवमपछि सर्वोत्तमको शेयर आउनेछ।यो कम्पनीमा सिमेन्ट र डन्डी उद्योगमा स्थापित सौरभ समूहको लगानी छ।

कम्पनीलाई व्यवसायिक रुपमा अघि बढाउन बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालको प्लान्ट बोटलर्स नेपालमा काम गरिसकेका भरत दाहाललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।पश्चिम नवलपरासीको सुनवलमा ३३ विघा जग्गामा सिमेन्ट उद्योग छ। क्लिंकरसहित दैनिक तीन हजार टन सिमेन्ट उत्पादन क्षमता छ।कम्पनीका संचालक विष्णु न्यौपानेले सर्वसाधरणलाई समेत प्रतिफल दिनका लागि शेयर जारी गर्न लागिएको बताए।‘सिमेन्ट उद्योगमा हाम्रो एक्सपर्टिज छ। हामीसँग अरु पनि सिमेन्ट उद्योग र खानी छन्।’ उनले बिजमाण्डूसँग भने,’राम्रोसँग संचालनमा भएको उद्योगको शेयरधनी सर्वसाधरणलाई बनाउन खोजेका हौं।’उनका अनुसार अरु उद्योगलाई समेत अघि बढाउने र बैंकसँगको ऋण घटाउने उदेश्यसहित आइपिओमा जान लागिएको हो।

नियम अनुसार पब्लिक कम्पनी भएको एक वर्षपछि मात्रै प्राथमिक शेयर निष्कासन गर्न सक्ने छ। कम्पनीले थप प्रिमियम सहित शेयर निष्कासन गर्ने योजना बनाएको छ।धितोपत्र निष्कासन सम्बन्धी नियम अनुसार थप प्रिमियम सहित शेयर निष्कासन गर्दा अधिकतम नेटवर्थको दुई गुणासम्मको मूल्यमा निष्कासन गर्न पाउने छ।कम्पनीहरुले प्राथमिक शेयर निष्कासन गर्नका लागि पब्लिक कम्पनीमा रुपान्तरण भएको एक वर्षपछि मात्रै प्रक्रिया सुरु गर्ने पाइन्छ। यस नियमका आधारमा कम्पनीले आगामी आर्थिक वर्षमा मात्रै प्राथमिक शेयर निष्कासन गर्न सक्नेछ।कम्पनीले प्राथमिक शेयर निष्कासन गरेसँगै चुक्ता पुँजी तीन अर्ब ६० करोड रुपैयाँ पुग्नेछ। कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ९८ करोड रुपैयाँ छ।

गत वर्षको नाफा तथा जगेडा कोषबाट एक अर्ब १८ करोड ८० लाख रुपैयाँको बोनस शेयर दिएर संस्थापक तर्फको चुक्ता पुँजी तीन अर्ब १६ करोड ८० लाख रुपैयाँ कायम हुने छ।सर्वसाधारणलाई १० प्रतिशत अर्थात ३८ करोड रुपैयाँ र प्रभावित वासिन्दाका लागि दुई प्रतिशत अर्थात ७ करोड २० लाख रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने योजना बनाएको छ।कम्पनीले आथिक वर्ष २०७३/७४ मा ८० करोड रुपैयाँ नाफा गरेको थियो। त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा ९४ करोड ५० लाख रुपैयाँ नाफा गरेको थियो।गत आर्थिक वर्षको लेखा परिक्षण हुन बाँकी रहेको वित्तीय विवरण अनुसार एक अर्ब ५ करोड रुपैयाँ नाफा गरेको छ। गत वर्षको वित्तीय विवरण अनुसार जगेडा कोषमा एक अर्ब ७० करोड रुपैयाँ छ।-बिजमाण्डु