ताजा अपडेट »

आगामी सातादेखि रुपन्देहीमा लिस्नु कप फुटबल

शनिबार, १४ भदौ २०७६

भाद्र १४
ग्लोबल आवाज
बुटवल । लिस्नु कप फुटबल प्रतियोगिताको १९ औं संस्करण आगामी भाद्र २१ गतेदेखि सुरुहुने भएको छ । रुपन्देहीको लिस्नु युवा क्लबको आयोजनामा असोज ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीबारे शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

प्रतियोगितामा प्रदेश ५ का रुपन्देही, नवलपरासी, कपिलपस्तु, दाङ तथा गण्डकी प्रदेशको स्याङजा र प्रदेश ३ को चितवन जिल्लाको सहभागिता रहने लिस्नु क्लबका अध्यक्ष तिर्थ राज मल्लले जानकारी दिए । रुपन्देहीको कोटिहवास्थित पशुपति उच्च माविको मैदाननमा नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ तथा दोस्रो हुने टोलीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउने आयोजकले जनाएका छन् । विजेताको पुरस्कार राशी कुल प्रसाद गुरुङबाट प्रायोजन भएको प्रतियोगिता संयोजक नेम प्रसाद गुरुङले जानकारी दिए । गुरुङले आफ्ना स्वर्गिय माता पिता पवित्रा र सिंहवर गुरुङको सम्झानामा पुरस्कार राशी प्रायोजन गरेको बताएका छन् । बुबा आमाको नाममा फुटबल प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुसी लागेको गुरुङले बताए ।


अब प्रतियोगिताको नाम ‘सिंहविर पवित्रा’ स्मृती १९ औं लिस्नु कप नक आउट फुटबल प्रतियोगिता हुने क्लबका सचिव मनोज क्षेत्रीले बताए । सचिव क्षेत्रीका अनुसार प्रतियोगिताको तयारी तीब्र पारिएको र अन्य प्रायोजक आउने क्रम पनि जारी रहेको बताए । पत्रकार सम्मेलनमा क्लबका पूर्व अध्यक्ष एवम् तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष खेमराज गुरुङले रुपन्देहीकै प्रतिष्ठित एवम् पुरानो प्रतियोगितामा स्थायित साधन श्रोतबाट सञ्चालन भइरहेको स्मरण गरे । छिमेकी जिल्लाका टोलीलाई एकतर्फ र अन्य जिल्लाका टोलीलाई दुई तर्फी यातायात खर्च आयोजकले उपलब्ध गराउने बताइएको छ । विदेशी खेलाडीलाई खेलाउन पाउने भएपनि स्थानियलाई प्राथमिकता दिनुपर्नेमा आयोजकको जोड रहेको छ । प्रतियोगितामा झन्डै साढे १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका आर्थिक संयोजक युवराज गुरुङले जानकारी दिए ।


प्रतियोगितामा आयोजक लिस्नु क्लब, रुपन्देही ठुटिपिपलको नवयुवा खेलकुद तथा सास्कृतिक परिवार, बुटवलको फुलबारी गाईज , रुपन्देहीको फर्साटिकर फुटबल क्लब, झरना स्पोर्टिङ क्लब, रुपन्देहीकै कुन्जलापुरले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । नकआउटका आधारमा हुने प्रतियोगितामा कपिलवस्तु शिव नगरपालिकाको जय बुद्ध सामाजिक युवा क्लब, नवलपरासीको नवलपरासी ११ र देशभक्त युवा क्लब, दाङ घोराहिको युएनबिएल एकेडमी, स्याङजाको वालिङ नगरपालिका , चितवनका भरतपुर फुटबल क्लब र जु फुटबल क्लबले भाग लिने बताइएको छ ।