ताजा अपडेट »

लामो समयदेखि बन्द रहेका रुपन्देहीका अधिकांश विद्यालय भोलिदेखि खुल्ने

आइतबार, ०३ असोज २०७८
1 Shares

बुटवल । दोस्रो लहरको कोरोना महामारी कारण ५ महिना पूर्णरुपमा बन्द भएका विद्यालय सञ्चालनमा आउन लागेका छन् । कोरोनाको जोखिमका कारण बैशाखको पहिलो हप्तादेखि बन्द रहेका विद्यालय संक्रमणको दरमा कमि आएसँगै खुल्न लागेका हुन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोना संक्रमणको जोखिमको अवस्थालाई मध्यनजर गरी जोखिम कम भएका स्थानीय तहलाई विद्यालय सञ्चालन गर्न अनुमति दिएको छ । देशकै सबैभन्दा ठूलो र धेरै विद्यार्थीहरु रहेको त्रिभुवन विश्वविद्यालयले पनि सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त विद्यालयहरुलाई भौतिक रुपमा नै पठन–पाठन गराउन आग्रह गरेको छ ।

जिल्ला प्रशासनले १६ वटै स्थानीय तहरुलाई कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरी जोखिम कम भएका स्थानीय तहलाई विद्यालय सञ्चालन गर्न अनुमति दिएको साहयक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । ‘डिसिसिएसीको बैठकको निर्णय अनुसार जिल्ला प्रशासनले विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको छ ।’ पौडेलले भने ‘स्थानीय तहले जोखिमको अवस्था कम भएको भए स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउन्छन् ।’

जिल्ला प्रशासनले विद्यालय सञ्चालन गर्नका लागि अनुमति दिएसँगै केही स्थानीय तहले विद्यालय सञ्चालन गर्न अनुमति दिइसकेका छन् । देवदह नगरपालिकाका विद्यालय भदौ २७ गतेदेखि नै सञ्चालनमा आइसकेका छन् भने तिलोत्तमा नगरपालिकाका विद्यालयहरु पनि असोज ४ गते अर्थात भोलिदेखि खुल्ने छन् । त्यसैगरी सैनामैनामा पनि फाट्टफुट्ट सञ्चालन हुँदै आएका छन् ।

बुटवल उपमहानगरपालिकाले विद्यालय सञ्चालन गर्ने मापदण्ड तय गर्नका लागि नगरभित्रका विद्यालय सञ्चालक र प्रचार्यहरुसँग केही दिन अघि छलफल गरेको थियो । छलफलका क्रममा विद्यालय सञ्चालक र प्राचार्यहरुलाई असोज ४ गतेभित्र कक्षा कोठाको स्यानिटाइजर गर्न आग्रह गरेको उपमहानरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

बुटवलमा विद्यालय र विद्यार्थीहरुको संख्या धेरै रहेकाले विद्यालयहरुलाई सिफ्ट अनुसार पठन–पाठन गराउने व्यवस्था मिलाउन पनि भनिएको प्रवक्ता रेग्मीले बताए । उपमहानगरपालिकाले तोकेको सबै मापदण्ड पूरा गरे नगरेको अनुगमन गरे पछि मात्रै विद्यालय सञ्चालन गर्न दिने प्रवक्ता रेग्मी बताउँछन् ।‘ बुटवलमा अन्य स्थानीय तहमा भन्दा धेरै विद्यालय र विद्यार्थी संख्या रहेको छ ।’ उनले भने‘ सबै प्रक्रिया पुरा गरेका विद्यालयहरुलाई तत्काल नै सञ्चालन गर्नका लागि अनुमति दिन्छौँ ।’

यस्तै मर्चवारी गाउँपालिका विद्यालय पनि बुधबारदेखि नै सञ्चालनमा आएका छन् । गाउँपालिकाका अध्यक्ष केशव नन्द बानियाका अनुसार सबै स्वास्थ्य मापदण्ड पालना गर्ने गरी धरै विद्यार्थी भएका विद्यालहरुलाई सिप्ट अनुसार सञ्चालन गर्न दिएको बताए । ‘बुधबारबाट नै गाउँपालिका भित्रका विद्यालय सञ्चालनमा आएका छन् ।’ अध्यक्ष बानियाले भने ‘ कक्षा ६ देखि १० सम्मका विद्यालय बिहान ७ बजेदेखि ११ बजेसम्म र अन्य कक्षाको पठन–पाठन १ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्ने गरी अनुमति गाउँपालिकाले दिएको छ ।’

जिल्लाका अन्य स्थानीय तहहरुमा पनि कोरोना संक्रमणको जोखिमको अवस्थालाई ध्यानमा राखेर विद्यालय सञ्चालन गर्न दिने तयारीमा रहेका छन् । केही विद्यालयहरुले भने स्थानीय तहले विद्यालय सञ्चालन गर्नका लागि अनुमति नदिए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि सञ्चालन गर्ने तयारीमा छन् ।

बुटवलको हाटबजारमा रहेको कान्ति मा.वि.पनि उपमहानगरपालिले तोकेका सबै मापदण्ड पूरा गरेर विद्यालय खोल्ने मनस्थितमा छ । ‘आज पनि विद्यालयमा लोकसेवा आयोगका परीक्षा भएको छ ।’–विद्यालयका प्रचार्य गोविन्द ज्ञावलीले भने ‘कक्षा १२ को परीक्षा सकिएपछि विद्यालय भौतिक रुपमा नै सञ्चालन गछौँ ।’

तर, केही अभिभावकहरुले भने चाडपर्व नजिकिएका कारण चाडपर्वपछि मात्रै भौतिक रुपमा कक्षा सञ्चालन गर्नका लागि आग्रह गरेको बताए । ‘लामो समयसम्म भौतिक रुपमा कक्षा सञ्चालन नभएकाले हामी विद्यालय भौतिक रुपमा नै पठन–पाठन गराउने तयारी गरेका हौ ।’ उनले भने ‘ तर, केही अभिभावकहरुले भने अनलाइन माध्यमबाट नै कक्षा सञ्चालन गर्न आग्रह गर्नु भएको छ ।’

पहिलो लहरको कोरोना संक्रमणका कारण करिब ९ महिना भौतिक रुपमा पठन–पाठन बन्द भएको थियो । सरकारले २०७६ चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेसँगै विद्यालय पूर्णरुपमा बन्द भएका थिए । जोखिम कम भएपछि मंसिरको द्रोसो हप्तादेखि भौतिक रुपमा विद्यालय सञ्चालनमा आएका थियो । विद्यालय सञ्चालन भएको ४ महिनामै कोरोनाको द्रोसो लहर सुरु भए पछि विद्यालय बन्द भएका थिए ।

शिक्षा कार्यालय रुपन्देहीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा बालविकासदेखि कक्षा १२ सम्म सामुदायिक र संस्थागत विद्यालयमा गरी २ लाख ८९ हजार ७१४ विद्यार्थीहरु रहेका छन् । लामो समयसम्मको कोरोना महामारीका कारण जिल्लामा विद्यार्थीको संख्या एकिन गर्न कठिनाई भएको शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ ।