भाद्र १३,
बुटवल । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाटै मन्त्रीपरिषदको बैठक सञ्चालन गर्नु उपयुक्त नभएको बताएका छन् । मुलुकमा गम्भिर परिस्थिति आइपरेको अवस्थामा मात्रै सत्ता साझेदार दल र विपक्षी दलहरुको सहमतिमा बिदेशबाटै मन्त्रीपरिषद् बैठक सञ्चालन गर्न सकिए पनि अहिले विदेशबाटै मन्त्रीपरिषद् बैठक सञ्चालन गर्नुपर्ने मुलुकमा त्यस्तो केहि गम्भिर परिस्थिति नभएकोले सो बैठक अनुपयुक्त भएको टिप्पणि गरे ।
क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीद्वारा शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव बैद्यले बर्तमान सरकारको विदेश नीति स्पष्ट नभएको बताए । अमेरीकाको इण्डोप्यासिफिक आयोजना र चीनको बिर आर आई आयोजना दुवैमा सहमति जनाएर बर्तमान सरकारले दोहोरो चरित्र देखाएको भन्दै उनले भारत गयो भारतसँग ठिक्क, चीन गयो चीनसँग ठिक्क र अमेरिका गयो अमेरीकासँग ठिक्क बन्ने नीति लिएको आरोप लगाए । बर्तमान सरकार कम्युनिष्ट सरकार नभएको बताउँदै उनले प्रश्न गरे ‘राष्ट्रियता, जनजिविका र जनतन्त्रको पक्षमा सामान्य सूधारका कार्यक्रम पनि ल्याउन नसक्ने सरकार कसरी कम्युनिष्ट सरकार हुनसक्छ ?’ विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाउनु संबिधान बिपरितको काम भएको भन्दै उनले विप्लव नेतृत्वको नेकपाको पनि कार्यनीति स्पष्ट नभएको बताए । उनले बर्तमान सरकारले लोकतान्त्रिक अभ्यासको नाउंमा फांसीवादी अभ्यासमा लागेको आरोप समेत लगाए । संसदीय चुनावमा ठेकेदारी र पैसाको चलखेल हुने गरेका कारण निर्वाचनबाट जनमतको कदर नहुने गरेकोले आफ्नो पार्टीले उप चुनाव बहिस्कार गर्ने निर्णयमा पुगेको उनले बताए ।
अर्को एक प्रशंगमा उनले रेशम चौधरीमाथि राज्य पक्षबाट अन्याय भएको बताएका छन् । टीकापुर घटना राजनीतिक भएको भन्दै उनले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने बताए । ७ भदौमा टीकापुरमा भएको थरुहट सम्मेलनबाट फर्किएका वैद्यले शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘रेशम चौधरीमाथि मुद्दा लगाइनु गलत हो, उनी अन्यायमा परेका छन् ।’ महांसघका अध्यक्ष टेकबहादुर मास्कीरानाको अध्यक्षता र कोषाध्यक्ष भिमबहादुर भुजेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया