ताजा अपडेट »

डुवानले क्षतिग्रस्त रुपन्देहीका उद्योग सञ्चालनमा आएनन्, उत्पादन रोकिँदा करोडौंको क्षति

शुक्रबार, ०१ असोज २०७८
1 Shares

बुटवल । बाढी तथा डुबानले प्रभावित भएका रुपन्देहीका उद्योगहरु सञ्चालनमा नआउँदा दैनिक करोडौंको क्षति भइरहेपनि सरकार भने बेखबर रहेको छ । गत भाद्र ९ गते साँझदेखि ११ गतेसम्म परेकोे लगातारको वर्षा र बाढीले रुपन्देही, नवलपरासी लगाएतका क्षेत्रमा रहेका उद्योगहरुमा क्षति पुर्याएपनि स्थानीय,प्रदेश र केन्द्रिय सरकारसँग कुनै तथ्याङ्क नै छैन।

वर्षा र बाढीले रुपन्देही, नवलपरासी लगाएतका क्षेत्रका उद्योग जलमग्न, डुबानले बन्द भएका उद्योगहरु अझैसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् । विश्वव्यापी कोरोना महामारीले ठप्प भएका उद्योगहरु सञ्चालन हुनै लाग्दा पुनः अर्को विपद्मा परेका उद्योगहरुका बारेमा सरकारले कुनै चासो नदिएको उद्योगीहरुको गुनासो छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नै हेरिहेको उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालसम्म पनि तथ्याङ्क संकलन गर्ने सामान्य काम पनि गर्न नसक्दा उद्योगीहरुको सरकारप्रति नै विश्वास घटेको छ ।

जलमग्न भएका उद्योगहरुमा १–२ दिनसम्म त भित्र पस्ने अवस्था भएन । मानवीय क्षति त्यत्ति नभएपनि उद्योगका मेशिनरी उपकरणसहित कच्चा पदार्थ, अर्धतयारी र रेडीमेड सामग्रीहरुमा ठूलै क्षति पुर्यायो । यसैबीचमा, लगातारको वर्षा र बाढीले प्रभावति बनेको औैद्योगिक समूह हो, आवास गु्रप । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७, कोटिहवामा सञ्चालित आवास गु्रपका ६ वटा उद्योगमा ठूलै क्षति पुग्यो । जसको परिणाम २० दिन पुगिसक्दा पनि उद्योगहरु सञ्चालनमा आउन सकेनन् ।

डुवानले आवास ग्रुपका ६ वटा उद्योगमा गरि ५ करोडको क्षति पुर्याएको प्रबन्ध निर्देशक महेश थैवले बताए । ‘लगातारको वर्षा र त्यसपछिको बाढीले हाम्रा ६ वटा जलमग्न थिए । विस्तारै पानी हटेपछि हामी उद्योगमा छिर्यौ ।’ उनले भने, ‘उक्त डुबानले हाम्रा ६ वटा उद्योगका मेसीनरी उपकरणसहित कच्चा पदार्थ, अर्धतयारी र रेडीमेड सामग्रीहरुमा गरि ५ करोड बढीको क्षति भएको छ ।’

डुवानले यस गु्रपबाट क्षति भएका ६ वटामध्ये मिराज इन्डस्ट्रिज मात्रै सञ्चालनमा आएको छ भने शुभलक्ष्मी पोलिमर्स इन्डष्ट्रिज, एभरेष्ट फूड एण्ड वेभरेज इन्डष्ट्रिज, लक्ष्मी स्टिल इन्डष्ट्रिज, नेशनल रबर इन्डस्ट्रिज सञ्चालनमा आउन सकेको छैन् । निर्माणाधिन ज्याकर पाइप्स एण्ड फिटिङ इण्डष्ट्रिजमा क्षति पुगेको थैव बताउँछन् ।

उनका अनुसार ती उद्योगहरु सञ्चालनमा आउन अझै १०/१२ दिन लाग्नेछ । ‘हाम्रा उद्योगहरु मध्ये एक उद्योगमात्र सञ्चालनमा आएको छ । अन्य उद्योगका मेशिनरी सामानहरु मर्मत गर्न भारत पठाईएको छ ।’ उनले भने, ‘मेशिनरी सामानहरु ममर्त भई उद्योग सञ्चालनमा आउन अझै १०–१२ दिन लाग्छ ।’

उद्योग बन्द हुँदा दैनिक उत्पादन हुने लाखौंको नोक्सान व्यहोर्नुपरेको उनको भनाई छ । दशैंतिहार आउन महिना दिन छँदा उत्पादन गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । ‘उद्योगहरु बन्द भएर दैनिक बराबरको क्षति त भयो नैं, त्यसमाथि पनि चाडपर्वहरु सुरु हुन लाग्दा उत्पादन गर्न पाएका छैनौं ।’ उनले भने, ‘सिजन बेला सुरु भएको छ । यो राम्रो बेला हो उत्पाद तथा वितरण गर्ने । दुर्भाग्यवस मार्केटमा जानसकेका छैन् । रोटेशन ग्याप भएको छ ।’

उद्योग क्षेत्र डुबानले धराशायी बन्दा पनि सरकारले कुनै चासो नदेखिएको उनको भनाई छ । थैवले मर्काको बेला पनि सरकारले सोध खोप नगरेको दुःखेसो पोखे । ‘डुवानले उद्योगहरु क्षतिग्रस्त हुँदा पनि सरकारबाट कुनै राहत नमिल्नु दुःखको कुरा हो ।’ उनले भने, ‘सरकारले हामिलाई मत्लब पनि गरेन ।’

उनी त केबल एक प्रतिनिधी पात्र हुन् । बुटवल–भैरहवा सडकखण्ड अन्तर्गत पञ्चकन्या कोरीडोर र भैरहवा– परासी सडक खण्ड अन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकामा पर्ने उद्योगहरु डुबानबाट अति प्रभावित बनेका छन ।

बुटवल–भैरहवा सडक खण्ड अन्तर्गत पञ्चकन्या कोरीडोर अन्तर्गत पर्ने पन्चकन्या समूह अन्तर्गतको पञ्चकन्या प्लाष्टिक उद्योग, सोही कोरिडोरमा रहेको एभरेष्ट रोलिङ ईण्डष्ट्रिज प्रालि, श्याम मोडर्न दाल मिल, रत्ना आइरन लगायतका उद्योगहरु पनि डुबानमा परेको थिए । यस्तै, डुबानका कारण भैरहवा–परासी सडक खण्डमा पर्ने सिद्धी बिनायक एग्रो ईण्डष्ट्रिज, श्री स्टिल, शंकर ग्यास उद्योग, जय माता दी पाईप उद्योग लगायतका आधा दर्जन बढी उद्योगहरु प्रभावित भएका थिए ।

रुपन्देहीका उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले डुबानले उद्योगीमा करोडौंको क्षति पुगेको बताए । उनले उद्योगमा परेको क्षति संघको कार्यालयमा जानकारी गराउन आग्रह गरेपनि धेरैजसोले जानकारी नगराएको बताए । उनले सबैजसो उद्योगमा निरीक्षण पनि गरेको जानकारी गराए । ‘डुवानले उद्योगीहरु प्रभावित भएका छन् । क्षतिको विवरण बुझ्न हामिले धेरै जसो उद्योगहरुमा पनि पुग्यौं ।’ उनले भने, ‘दर्जनौं उद्योगमा क्षति पुगेको छ । २–४ जनाको विवरण त पायौं । सबैको पाएका छैनौं ।’ उनले संघले क्षतिपुर्ति दिन सक्ने अवस्था नभएको बताउँदै राज्यले पहल गर्नुपर्ने उनको भनाई छ । उद्योगका उपकरणहरुमा थुप्रै क्षति पुगेकोले उनले बीमाको लागि पहल गरिने बताए ।

यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भने हालसम्म क्षतिको विवरण नआएको बताएको छ । यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लुम्बिनी प्रदेशका प्रवक्ता रमेश गौतमले हालसम्म क्षतिको विवरण नआएको बताए । उनले क्षतिग्रस्त भएका उद्योगहरुले राहत माग नगरेको बताए । उनले भने ‘‘हामीसँग हालसम्म क्षतिको विवरण उपलब्ध भएको छैन् । राहतको माग आए सोही अनुसार बजेटमा समावेश गर्छौं ।’ डुवान पीडितहरुको निरीक्षणको लागि मन्त्रालयबाट कोही नगएको उनको भनाई छ । गौतमले मन्त्रालयको भागबण्डा र संरचना निर्माणको कामले अन्य कामहरु प्रभावित बनेको बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीकै मातहतमा रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत पर्ने उद्योग नै संकटमा पर्दा पनि उनले यस सम्बन्धमा ध्यानाकर्षणसम्म जनाएका छैनन् । उता केन्द्मा गृहमन्त्री रहेका रुपन्देहीबाट प्रतिनिधि सभा सदस्य बनेका बालकृष्ण खाँणले पनि आफ्नो गृहजिल्ला,गृहनगरका दर्जन बढी उद्योग डुबानमा परी क्षति पुग्दा र लामो समय सञ्चालनमा नआएको अवस्थामा कुनै चासो दिएको देखिँदैन।