भाद्र १३,
काठमाण्डौं । बैंकहरूले गत वर्षभन्दा यो वर्ष दोब्बरदेखि तेब्बरसम्म बढाएर धमाधम लाभांश बाँड्ने घोषणा गर्दैछन्। अधिकांश बैंकले अघिल्लो आर्थिक वर्षभन्दा यस वर्ष बढी नाफा कमाएकाले लाभांश दर बढाएका हुन्।
सिटिजन्स बैंकले गत वर्षभन्दा तेब्बर लाभांश दिने भएको छ । सटिजन्स बैंकको सञ्चालक समितिले नगद र बोनस गरी कुल १५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। उक्त बैंकले १२ प्रतिशत नगद र ३ प्रतिशत बोनस वितरण गर्ने भएको छ। गत वर्ष सिटिजन्स बैंकले बोनस र नगद गरी कूल ५.२७ लाभांश दिएको थियो। यसैगरी, एनआइसी एसिया बैंकले गत वर्षभन्दा यस वर्ष दोब्बरले बढी लाभांश दिने निर्णय गरेको छ। उक्त बैंकले यो वर्ष कूल २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । एनआइसी एसिया बैंकले ११.०५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर वितरण गर्दैछ। गत वर्ष उक्त बैंकले कर प्रयोजनका लागि नगद ०.५३ प्रतिशत र बोनस सेयर १० प्रतिशत गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।
यसैगरी, माछापुच्छ्रे बैंकले यो वर्ष ११ प्रतिशत नगद र पाँच प्रतिशत बोनस सेयर गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। साथै, कुमारी बैंकले १० प्रतिशत बोनस र ०.५२६ प्रतिशत कर प्रयोजनका लागि नगद दिने भएको छ। अन्य बैंकका सञ्चालक समितिले पनि लाभांश कति दिने भन्नेबारे छलफल गर्न थालेका छन्। बैंकहरूबीच लाभांश कसले बढी वितरण गर्ने भन्नेमा पनि प्रतिस्पर्धा चल्दैछ। लाभांश घोषणा गर्न बाँकी बैंकहरूलाई लाभांश बढी वितरण गर्न दबाब सिर्जना भएको छ। २८ वटै वाणिज्य बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्याइसकेकाले बैंकहरूले बोनसभन्दा नगद लाभांश बिढी वितरण गर्दैछन्।
अहिलेसम्म लाभांश घोषणा गरेका बैंकमध्ये कुमारीबाहेक अन्य सिटिजन्स, माछापुच्छे, एनआइसी एसिया बैंकले बोनसभन्दा नगद बढी दिने भएका छन्। अन्य वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७४/७५ मा बाँडेको लाभांशभन्दा आर्थिक वर्ष २०७५/७६ मा बाँड्ने लाभांश बढाउने अनुमान गरिएको छ। बैंकहरूले गत आर्थिक वर्षको अन्त्य (असार) सम्म गरेको नाफाका आधारमा त्यस्तो देखिएको हो। अघिल्लो आर्थिक वर्षमा कमाएको नाफा र जगेडा कोषमा राखेको रकमले गत वर्ष वाणिज्य बैंकले अहिलेभन्दा कम लाभांश वितरण गरेका थिए। गत आवमा गरेको बैंकको नाफाले यो वर्ष गत वर्षभन्दा बढी लाभांश बाँड्ने सम्भावना बैंकहरूको नाफाले देखाएको छ।
प्रत्येक बैंकले चुक्ता पुँजी बढाएकाले लगानी बढेको र त्यसबाट आम्दानी पनि बढेको हुनाले गत आवमा बैंकको नाफा बढेको हो। बैंकहरूको खुद नाफा बढेको हुनाले लाभांश वितरण गर्नसक्ने क्षमता वृद्धि भएको छ। लगानीयोग्य पुँजी अभाव खेपिरहेका बैंकहरूले नाफा भने बढाएका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी कमी नहुने हो भने अझै बढी नाफा गर्न सकिने उनीहरूको भनाइ छ। नियमित कमाइ र रकम फिर्ता (राइट ब्याक) लगायत कारण बैंकहरूले गत आर्थिक वर्षमा नाफा उल्लेखनीय रूपमा बढाएका छन्। यद्यपि, नेपाल राष्ट्र बैंकले तोकेको स्प्रेड दर कायम गर्नुपर्ने बाध्यता र लगानीयोग्य पुँजी कमीले बैंकको नाफामा ठूलो वृद्धि गर्न नसकिएको बैंकर स्वीकार गर्छन्। बैंकहरूको व्यवसायको आकार बढेकोले नाफा पनि बढेको बैंकरको भनाइ छ।- विष्णु बेल्वासे /नेपाल न्युज
प्रतिक्रिया