ताजा अपडेट »

साफ यु-१५ फुटबलः भुटान विरुद्ध नेपालको फराकिलो जित

विहीबार, १२ भदौ २०७६

भाद्र १२,
काठमाण्डौं । नेपाल भारतमा जारी पाँचौं साफ यु–१५ फुटबलको फाइनल नजिक पुगेको छ । बिहीबार भएको खेलमा भुटानमाथि ६-० को फराकिलो जित निकाल्दै नेपालले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो ।

जितसँगै नेपालले ४ खेलबाट ९ अंक जोडेको छ । भुटान जितविहीन बन्दै घर फर्किएको छ । अब भारत र बंगलादेशबीचको खेलले फाइनल पुग्ने टोलीको तय हुनेछ । भारतको ९ अंक रहेको छ भने बंगलादेशको ६ अंक रहेको छ । यो खेलमा भारत विजयी भएमा नेपाल र भारतबीच उपाधि भिडन्त हुनेछ भने बंगलादेशले जितेमा गोल अन्तरका आधारमा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

नेपाललाई जित दिलाउन कप्तान प्रदिप लम्सालले दुई गोल गरे भने यस्तै अशिम राई, सुगम जिमी, क्रिस सापकोटा र निराजन खत्रीले एक–एक गोल गरे । कल्याणी रंगशालामा खेलको ५ औं मिनेटमा नै पेनाल्टीमार्फत गोल गर्दै प्रदिपले नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ९ औं मिनेटमा निराजनले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । खेलको ४८ औं मिनेटमा प्रदिपले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाए भने ७५ औं मिनेटमा अशिमले, ८५ औं मिनेटमा क्रिसले र अतिरित्त समयमा सुगम जिमीले गोल गर्दै नेपाललाई ६-० को जित दिलाए ।