भाद्र १२,
कञ्चन । रुपन्देहीको हरैयामा कञ्चन हरैया लायन्स क्लव अफ इन्टरनेश्नल र लाली गुरांस युवा क्लव, कञ्चन-३ हरैयाको संयुक्त अयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान जीवन दान’ भन्ने मुल नारा सहित आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ५० जना रक्तदाताहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रुद्रपुरका कार्यलय प्रमुख तथा प्रहरी निरीक्षक इन्द्र प्रसाद चौधरीले रक्तदाताहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेका थिए । रक्तदानले मृत्युबरणको क्षणमा पुगेका मानिसहरुको जीवन रक्षा गर्ने बताउँदै उनले भने- ‘हरेक ३/३ महिनामा स्वस्थ ब्यक्तिले नियमित रक्तदान गर्दा रक्तदाताको स्वास्थ्य राम्रो हुन्छ, साथै रगतको अभावमा जीवन पर्खिरहेका ब्यक्तिलाई समेत जिवनदान हुन्छ ।’ यसैगरी कञ्चन हरैया लायन्स क्लव अफ इन्टरनेश्नल बर्ष २०१९/२०का अध्यक्ष तथा कञ्चन गाउँपालिका वार्ड नं. ४ का वडा अध्यक्ष लायन दुर्गा सिंह क्षेत्रीले रक्तदान जीवनपूर्ण र अमुल्य दान भएको बताउँदै रक्तदान गर्ने रक्तदाताले जीवनमा अरु बहुमूल्य सम्पत्ति दान गर्नु नपर्ने बताए ।
लाली गुराँस युवा क्लवका अध्यक्ष तथा कञ्चन सामुदायिक संचार संस्था, कञ्चन-३, हरैयाका निबर्तमान अध्यक्ष लायन राम बहादुर थापाले कञ्चनमा रक्तदानको अभियान गुराँस युवा क्लवले शुरु गरेको बताए । ‘शुरुको अवस्थामा रक्तदान गर्नु पर्छ भन्ने चेतनाको अभाव थियो । तर, आज त्यो अभियानले मृत्युको मुखमा पुगेका मानिसहरुलाई रगतको अभाव हुन नदिई पुनःजीवन दिएर अभियान सार्थक बनेको छ’-उनले भने । कञ्चन सामुदायिक संचार संस्था, कञ्चन-३, हरैयाका निबर्तमान अध्यक्ष लायन राम बहादुर थापाको स्वागतमा भएको कार्यक्रमको संचालन लायन्स क्लवका सचिव गणेश आचार्यले गरेका थिए ।
प्रतिक्रिया