ताजा अपडेट »

पर्व र संस्कृति अपहरण हुँदैछन् : मन्त्री बराल

विहीबार, १२ भदौ २०७६


भदौ १२,
ग्लोबल आवाज
बुटवल । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले नेपाली संस्कृति र चाडपर्वहरु अपहरण भइरहेको बताएका छन् । रिपोटर्स क्लब प्रदेश ५ ले बिहिबार बुटवलमा आयोजना गरेको तीज विशेष कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने‘ हाम्रा मौलिक संस्कृति र चाडपर्वहरु मौलिक शैलीमा नभई अपहरण शैलीमा मनाइँदै छन् । हरेक पर्वको आफ्नै महत्व र मनाउने शैली हुन्छ । सोही अनुसार मनाउनु पर्दछ । जुन समुदाय र संस्कृति अनुसारको पर्व हो त्यही अनुसार मनाउँदा पर्वको परम्परा र विशेष्ताले निरन्तरता पाउँदछ।’

‘पश्चिमा संस्कृतिलाई बढी महत्व र स्थान दिने पछिल्लो शैलीले नेपाली मौलिक पर्वहरु विस्तारै लोप हुने अवस्थामा छन ।’उनले थपे । तीजको प्रसङ्गमा पनि उनले मौलिक रुपमै मनाउन आग्रह गरे । उनले भने‘तीज हाम्रो मौलिक,सांस्कृतिक तथा सामाजिक पर्व हो । तसर्थ सोही रुपमा मनाउनु पर्दछ । सबैले आ–आफ्नै स्थान र हैसियत अनुसार मनाउनु पर्दछ। तर, एकले अर्को वर्ग र समुदायलाई असर पर्नेगरी मनाउनु हुँदैन ।


कार्यक्रममा नेपाल बार एशोशियन बुटवलकी पूूर्व अध्यक्ष मिना पाण्डे,सिद्धार्थ गौतम बुद्ध क्याम्पसकी सहायक क्याम्पस प्रमुुख रिता रेग्मी ,सञ्चारिका समूह प्रदेश ५ की अध्यक्ष अमृता अनमोल ,नेपाल पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष निरु गौतम,डब्लुडब्लुजेडकी अध्यक्ष भगवती पाण्डे लगाएतले तीज पर्व नारीहरुको स्वतन्त्रता र अधिकारको मात्र नभई दाजु बहिनी–दिदी भाई लगाएत सबैको साझा बनेको बताए ।

उनीहरुले केही वर्ष अघि तीज भड्किलो र विकृतिमय भयो भन्ने आवाज उठेपनि गत वर्षदेखि तीज मनाउने शैलीमा मौलिकता र सरलता आएको बताउँदै प्रशासनले गरेको कडाइँप्रति आपत्ति जनाए । रिपोटर्स क्लब प्रदेश ५ की उपाध्यक्ष मिना ढकालको अध्यक्षता र सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो । क्लबका अध्यक्ष राम कुमार कार्कीले कार्यक्रम बारे प्रकाश पारेका थिए ।