ताजा अपडेट »

संविधान दिवसमा सार्वजनीक विदा, राष्ट्रिय दिवसका रुपमा मनाउन आह्वान

बुधबार, ११ भदौ २०७६

भाद्र ११,
बुटवल । सरकारले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदै सार्वजनीक विदा दिने भएको छ । सरकारले राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका समेत परिवर्तन गरेको छ ।
विसं २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाइन्छ ।

नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउन सरकारले बिदा दिएको बताएका छन् । उनले सो दिनको बिदामा सबै सचेत नागरिकले घर-घरमा राष्ट्रिय झण्डा फहराउनुपर्ने बताए । ‘सरकारले राष्ट्रिय दिवस मनाउनका लागि बिदा दिएको हो,’ उनले भने, ‘व्यक्तिगत मोजमजा गर्नका लागि होइन ।’ सञ्चारमन्त्री बाँस्कोटाको अध्यक्षतामा गठित उपसमितिले संविधानबारे विशेष सामग्री प्रकाशन, प्रसारण गर्न सबै सञ्चारमाध्यमलाई आग्रह पनि गरेको छ । दिवसको मूल समारोह समितिअन्तर्गत गठित प्रचारप्रसार उपसमितिको आजको बैठकमा सो अवसरमा राष्ट्रिय झण्डा र राष्ट्रियतालाई केन्द्रमा राखी संविधानको महत्व झल्काइने जानकारी दिइएको हो । झण्डा प्लास्टिकको बनाउन नपाइने र कपडा वा कागजको झण्डा हुनुपर्ने निर्देशिकामा उल्लेख छ । झण्डालाई सम्मानपूर्वक प्रयोग गरी टिसर्टका रुपमा पनि लगाउन पाइने प्रबन्ध गरिएको छ ।

मन्त्री बाँस्कोटाले २०६२/०६३ मा जन्मेका नयाँ पुस्ताले पनि संविधानबारे बोध गर्ने गरी आकर्षक प्रचारप्रसार हुनुपर्ने भएकाले यसका लागि नवीन सुझाव ग्रहण गरिने बताए । ‘संविधान त्यत्तिकै आएको होइन, अब संविधान संशोधन भए पनि अर्को राष्ट्रिय दिवस हुँदैन । जो जो जतिसुकै उफ्रेपनि गणतन्त्र फालिँदैन,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले भने, ‘कतिपय अवस्थामा अराजकता पनि देखिन्छ, अधिकारको उन्माद तर कर्तव्यको शून्यता देखिन्छ । यस्तो अवस्था अन्त्यका लागि युवापुस्तालाई पनि समेट्ने कार्यक्रम गरौँ । हरेक प्रगतिभित्र इतिहासको जीवन्तताको विरासत भने चाहिन्छ ।’ मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले दिवसलाई व्यापक र जनस्तरमा लैजान यही भदौ ४ गते सम्पन्न मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री एवम् मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनानुसार सबै नेपालीले हाम्रो दिवस हो भन्ने भावना विकासका लागि उपसमितिको महत्वपूर्ण भूमिका हुने बताए ।

उपसमितिले असोज २ गते नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष परिसंवाद र प्रचारप्रसार गर्ने, राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधान विशेषाङ्क प्रकाशन गरी संविधानको बहुआयामिक पक्षलाई उजागार गर्ने, सबै सञ्चार माध्यमबाट संविधानको महत्व प्रसारण गर्ने, असोज ३ गतेको मूल कार्यक्रम नेपाल टेलिभिजन, रेडियो नेपाललगायत राष्ट्रिय प्रसारणका साथ प्रत्यक्ष प्रसारण गर्ने, रेडियो नेपालले असोज ४ गते जागरण गीत सम्मेलन गर्ने, ‘मास एसएमएस’ गर्ने, सिनेमा हलमा सिनेमा प्रारम्भ हुनुअघि राष्ट्रिय गान बजाउने आदि कार्यबारे जिम्मेवारी बाँडफाँट गरेको छ ।

दिवसलाई औपचारिक नबनाई जनजनमा संविधानबारे चेतना फैलाउनुपर्ने, प्रचार सामग्री तयार गर्ने, संविधानसँगका जल्दोबल्दो विषय पहिचान गर्नुपर्ने, व्यवसायीले सामानहरुमा विशेष छुट दिने, निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, विद्यालय तहमा संविधानबारे प्रचार गर्ने आदि सुझाव बैठकमा दिइएको छ । दिवसको मूल नारा ‘संविधान तथा राष्ट्रिय दिवस हर्षोल्लासपूर्वक मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं’ भन्ने तय भएको छ । उक्त नारा मोबाइलमा एसएमएस सन्देशमार्फत सबैलाई दिवसका अवसरमा पठाइनेछ । सन्देशमा झण्डाको रङ र आकारका बारेमा पनि जानकारी दिइनेछ ।