भाद्र ११,
ग्लोबल आवाज
बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले गुल्मीको सत्यवती गाउँपालिकामा पहिरो पिडीत परिवारहरुका लागि राहत स्वरुप २ सय थान प्रेसर कुकर प्रदान गरेको छ । बुधबार प्रदेश ५ को सामाजिक विकास मन्त्रायमा एक कार्यक्रमको आयोजना गरी सामाजिक विकास मन्त्री सुदर्शन बराललाई प्रालिका अध्यक्ष दधिराम खरेलले औपचारिक रुपमा राहत हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै मन्त्री बरालले पहिरोका कारण विस्थापित घर परिवारलाई पुनःस्थापन गर्नका लागि स्थानीय सरकारले जग्गा उपलब्ध गराउने तथा प्रदेश सरकारले सबैका घर निर्माण गरिदिनेगरी तयारी अघि बढेको जानकारी गराए । ‘प्रभावित क्षेत्रमा सबै भन्त्रालयहरुबाट स्थलगत अध्ययन भैसकेको छ’–उनले अघि भने ‘प्रदेश सरकारले एकीकृत राहतको प्याकेज घोषणा गर्ने तयारीमा छ ।’ राहत वितरण गरिएकोप्रति बस व्यवसायीहरुलाई धन्यवाद दिँदै मन्त्री बरालले सरकार व्यवसायीहरुको पेशागत क्षमता वृद्धिका लागि प्रयत्नरत रहेको बताए । सिन्धिकेटको अन्त्यले छायाँमा परेका व्यवसायीका सकारात्मक कामहरु बाहीर आउन लागेको बताउँदै उनले कानून् अनुसार रहेर व्यवसायीहरुले सम्पत्ति आर्जन र खर्च गर्नपाउने बताए ।
कार्यक्रममा बोल्दै प्रा.लि.का अध्यक्ष दधिराम खरेलले व्यवसायीहरुले विगतमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको बताउँदै अन्य सामाजिक कार्यहरु समेत निरन्तर रहने बताए । प्रा.लि.ले डाईमण्ड ब्राण्डको प्रति कुकर १ हजार पर्नेगरी २ लाख बराबरको ५ लिटर क्षमताको राहत प्रदान गरेको हो ।
प्रतिक्रिया