न धरै लेक, न धेरै बेसी भिमकाया पहाडको मध्य भागमा रहेको सुन्दर नगरी हो मुसीकोटको खलङ्गा बजार । यो ठाउँ साविक रुकुम जिल्ला र हालको रुकुम पश्चिमको सदरमुकाम पनि हो । मुसीकोट कै सल्ले र सेरिगाउँको बीचमा रहेको खलङ्गा बजार र आसपासको क्षेत्रलाई वर्षायाममा बेला–बेलामा कुहिरोको घुम्टोले छोपिदिन्छ । हिउँदमा सिमलको भुवा झैं हिउँ पनि पर्ने यो ठाउँमा यो मौसममा कुहिरोको लुकामारी पनि बडो गज्जबको देखिन्छ।
दक्षिणबाट राप्ती लोकमार्ग र पश्चिमबाट मध्यपहाडी राजमार्गले जोडेको यो नगरी प्रचुर सम्भावनाको शहर पनि हो । पहिले यो स्थान केहि सुस्तायपनि संघीयता कार्यान्वयनसँगै गाउँसम्म सरकारी सुविधा पुगेपछि गाउ–ँगाउँमा बजार बनेको छ । खलङ्गा अहिले धेरै जिल्लाबासीको आकर्षणको केन्द्र भएको छ । नयाँ घरहरु बनिरहेकै छन्,मान्छेहरु किन–मेलका लागि यहाँसम्म पुगिरहेकै छन्। यसकारण पनि खलङ्गाको चमक घटेको भन्न मिल्दैन। बरु अहिले झनै बढ्दैछ ।
प्रकृतिको सुन्दर सिर्जना जस्तै देखिने खलङ्गा आकर्षक र रमणीय छ। सल्लेमा विमानस्थल र अस्पताल, खलङ्गामा बजार र प्रशासन अनि सेरिगाउँमा नगरपालिका र सभाहल विकासका प्रतिनिधि उदाहरण हुन् । मुसीकोट नगरपालिकाको समान विकासका निमित्त भैरहेका प्रयासहरुले गति लिरहेका छन् । सल्ले विमानस्थलको पश्चिमतिर फर्किए कलकल बग्ने सानीभेरीसंग नजर जुध्छ, पूर्व फर्किए खलंगा बजारसँग । अनि विमानस्थलबाटै उत्तर फकिए जन्तिडाँडाले नमनको गरे झै लाग्दछ भने दक्षिण फर्किए होला–अग्ला सुन्दर पहाडहरु । खलङ्गा बजार भन्दा पूर्वतर्फ केही दूरीमा रहेका मुसिकोट नगरपालिका भित्रै पर्ने शाँख दह र त्यहाँको रमणीय बस्तीले मनै लोभ्याउँछ।
डिग्रे शाइकुमारी भगवती मन्दीरको काखमा अवस्थित मुसीकोट क्षेत्रमा अरु पनि अनेकन सुन्दर सम्पदाहरु छन्।परापूर्व कालमा मुसी नामकी कन्याले यस ठाउँलाई तत्कालिन राजाको दरबारका लागि राजेको र उनकै नामबाट मुसीकोटको नामाकरण भएको भन्ने भनाई छ । पछिल्लो दिनमा खलङ्गा बजारको बराह टाकुरा (टुडिखेल)बाट सल्ले बजार जोड्ने झोलुङ्गे पुलको निर्माण भएसँगै यहाँको रौनक बेग्दै बनेको छ।
प्राकृतिक छटा र सुन्दरताले भरिपूर्ण विश्वमै सुन्दर राष्ट्रका रुपमा चिनिने नेपाललाई साँच्चैनै सुन्दर छ भन्ने उदाहरण मध्ये खलङ्गा पनि एक हो । ऐतिहासिक स्थलका रुपमा परिचित यस स्थान पर्यटनका लागि पनि प्रचुर सम्भावना भएको क्षेत्र हो । स्थानीय,प्रदेश र केन्द्रिय सरकारले यसको प्रपद्र्धनमा जोड दिए हजारौं पर्यटक भित्राउन सकिन्छ । हामीले यहाँ तस्वीरमार्फत मुसिकोटको सुन्दरता दर्शाएका छौं ।
प्रतिक्रिया