भाद्र १०,
बुटवल । रुपन्देही उद्योग संघको ४२ औं बार्षिक साधारणसभा तथा २१ औं अधिवेशन आगामी असोज ३० गते हुने भएको छ । संघको संघको शनिबार बसेको नियमित बैठकले अधिवेशनको मिति तय गरेको हो ।
संघका अध्यक्ष गणेश प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले अधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचन सम्पन्न गर्न संघका कानुनी सल्लाहाकार यमलाल खनाल प्रमुख निर्वाचन आयुक्त रहने गरि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको छ । समितिमा निर्वाचन निर्देशिका अनुसार नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसी र नेपाल बार एशोसीयसन उच्च अदालत बुटवल इजलासका अध्यक्ष गोमबहादुर खत्री सदस्य रहेका छन् । अधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरिएको संघका महासचिव कृष्ण प्रसाद पराजुलीले बताए । बैठकले अधिवेशनमा खाद्य व्यवस्थापन उपसमिति संयोजकमा सरला भण्डारी, किटव्याग व्यवस्थापन उपसमिति संयोजकमा घनश्याम घिमिरे तथा मञ्च व्यवस्थापन उपसमिति संयोजकमा मोहनीलाल रिजाललाई चयन गरेको छ । अधिवेशन बुटवल उपमहानगरपालिका ५ स्थित कान्ति माविको सभाहलमा गर्ने गरि स्थान तय भएको संघले जनाएको छ । अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, एशोसियट सदस्यसहित ३२ सदस्यीय नया समिति चयन गर्ने छ । संघमा करिव १२ सय उद्योग प्रतिष्ठानहरु सदस्य रहेका छन् ।
सोही वैठकले सडक दुर्घटनामा परि मृत्यु भएका संघद्वारा उत्कृष्ठ औद्योगिक पत्रकारिता पुरस्कार-२०५२ द्वारा पुरस्कृत सञ्चारकर्मी स्व.डायलसन अधिकारीको परिवारलाई राहात स्वरुप नगद रु. ५१ हजार दिने निर्णय गरेको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए ।
प्रतिक्रिया