भाद्र १०,
काठमाण्डौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारलाई झुक्याएर कर छल्ने प्रयास नगर्न उद्योग व्यवसायीलाई चेतावनी दिएका छन् । मंगलबार भृकुटीमण्डपमा नाडा आटो शो-२०१९ को उद्घाटन गर्दे मन्त्री खतिवडाले यस्तो चेतावनी दिएका हुन् ।
विद्युतीय सवारी साधन भनेर व्याट्रीबाट स्टार्ट हुने तर संचालनका लागि पेट्रोल या डिजेल नै आवश्यक पर्ने सवारी साधन ल्याएर उद्योगीले कर छल्न खोजेको उनको भनाइ थियो । ‘हाईब्रिड कार र हाईब्रिड भेइकललाई कर छुट दिन्छौ भनेर भन्यौं तर तपाईहरुले ब्याट्रीले त स्टार्ट मात्रै हुने अनि चल्दाखेरी गाडी ल्याएर भन्सारमा राखिदिनुभयो’, खतिवडाले भने, ‘अघि एक जनाले भन्दै हुनुहुन्थ्यो नक्कली पार्टपूर्जा पनि आए भने तर त्यो सरकारले ल्याएको होला र ?’ ‘तपाईहरुले सरकारलाई छल्ने काम नगर्दिनुहोस्’, खतिवडाले थपे, ‘सरकार पनि इमान्दारीपूर्वक पेस हुन चाहन्छ र तपाईहरु पनि इमान्दार पूर्वक पेश हुनुहोस् ।’ अर्थमन्त्री खतिवडाले विद्युतीय ऊर्जाबाट चल्ने गाडीमा मात्रै सरकारले भन्सार र अन्तशुल्क छुट दिएको स्मरण गराउँदै उद्योगीहरुलाई इमान्दार भएर व्यवसाय गर्न आग्रह गरे ।
नाडा अटो मोबाईल्स एसोसियसनका अध्यक्ष शम्भु दाहालले सवारी साधनको पार्टपूर्जामा लाग्ने अन्तशुल्क हटाउन माग गरे । मंगलबार सुरु भएको नाडा अटो शो २०१९ भदौ १६ गते सम्म चल्ने छ ।
प्रतिक्रिया