भाद्र १०,
काठमाण्डौं । ट्रायल पास गरेर १५ महिनासम्म सवारीचालक अनुमतिपत्र (लाईसेन्स ) कुर्नुपर्ने बाध्यता हटाउने तयारी थालिएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले केही महिनाभित्रै सहजै लाईसेन्स पाउने व्यवस्था मिलाउन लागिएको जानकारी दिए।
उनका अनुसार मास प्रिन्टर आईसकेकाले ढिलोमा तीन महिनाभित्रै यो सुरु हुनेछ। त्यसपछि ट्रायल पास गरेको एक सातामै लाइसेन्स हात पर्ने उनले बताए। 'एक सातामा लाईसेन्स नपाए मुद्दा हाल्नुस्' उनले भने। विभागमा गत मंगलबार नै मास प्रिन्टर आईपुगिसकेको छ। सफ्टवेयर इन्टलेशन गरेर सात जना कर्मचारीलाई तालिम दिएर मास प्रिन्टर मार्फत लाईसेन्स छाप्न रेडि पोजिसनमा राखेको छ। तर १० लाख कार्ड नआईपुगेकाले मास प्रिन्टर मार्फत छपाई भने सुरु भएको छैन। आगामी साताभित्र कार्ड आईसक्ने हमालले दाबी गरेका छ। कार्ड आउनासाथ छपाई सुरु हुनेछ। मास प्रिन्टरले प्रतिघण्टा ५ सय कार्ड छाप्छ। विभिन्न सिफ्ट संचालन गरेर भएपनि तीन महिनाभित्रै लाईसेन्स सहज बनाउने विभागले जनाएको छ।
थप सहज बनाउन छोटो खरिद प्रक्रिया अपनाएर तत्कालै अर्को प्रिन्टर ल्याउन लागिएको हमालले बताए ।करिव ६ लाख सेवाग्राहीले ट्रायल पास गरेर चिटको भरमा छन् । विभागमा रहेकामध्ये चारवटा प्रिन्टर संचालनमा रहेका छन् जसले करिव १५ सय हाराहारी छाप्छ। दैनिक माग करिव पाँच हजार छ। सबै यातायात कार्यालयहरु प्रदेश मातहत गैसकेको भएपनि लाईसेन्स प्रिन्टिङ भने तत्कालै प्रदेशबाट सुरु नहुने भएको छ। विभागले स्मार्ट लाईसेन्स कार्यान्वयन ल्याउनुअघि पर्याप्त तयारी नगरेका कारण समस्या भोग्नु परेको भन्दै प्रदेशमा यस्तो समस्या दोहोरिन नदिने महानिर्देशक हमालले बताए। उनका अनुसार प्रदेशमा लाईसेन्स छाप्नु दिनुअघि पर्याप्त तयारी गरेर मात्रै दिईनेछ। प्रदेशका कर्मचारीलाई तालिम, क्षमता अभिवृद्धि,पर्याप्त कार्ड र प्रिन्टर, छपाईको ट्रायल लगाएतका सबै तयारी भएपछि मात्रै हस्तान्तरण हुनेछ। यसका लागि समय लाग्ने देखिएको छ।
प्रतिक्रिया