काठमाडौँ । अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्द चयन गरिएको तालिबान समूहले घोषणा गरेको छ ।उक्त समूहका मुख्य प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने जानकारी मङ्गलबार पत्रकार सम्मेलनमार्फत् दिएको हो ।अमेरिकी सेनाको नेतृत्वको गठबन्धन सेनाको बहिर्गमन प्रक्रिया सुरू भएसँगै अगस्ट १५ मा तालिबानले देशका प्राय सबै प्रान्तसहित राजधानी काबुल आफ्नो नियन्त्रणमा आएको जनाएको थियो ।
बाँकी एकदुई दिनमा अन्य मन्त्री र उच्च पदस्थ अधिकारीहरूको चयन भइसक्ने तालिबान नेताहरूले बताएका छन् । अफगानिस्तानमा आफ्नो युद्ध समाप्त भएको जनाएको २४ घण्टाभित्रै तालिबान समूहले अन्तरिम सरकारको नेतृत्व चयन गरेको हो ।उक्त समूहले आफ्नो दलको उपनेतामा तालिबानका सहसंस्थापक अब्दुल गनी बरादरलाई चयन गरेको छ भने अमिर खान मुत्ताकीलाई अन्तरिम विदेश मन्त्रीमा चयन भएका छन् ।त्यस्तै मुल्ला याकूब रक्षामन्त्री बनेका छन् भन्ने हक्कानी नेटवर्कका प्रमुख सिराज हक्कानी गृहमन्त्री बनेका छन् ।
अमेरिकाको मोस्ट वान्टेड सूचीमा रहेका बने मन्त्री
हक्कानी नेटवर्कका प्रमुख सिराज हक्कानी अफगानिस्तानको नयाँ अन्तरिम गृहमन्त्री बनेका छन् । पछिल्ला २० बर्षको अमेरिकासँगको लडाईमा कैयौं घातक आत्मघाती हमलाको प्रमुख जिम्मेवार हक्कानी नेटवर्कको रहेको थियो । अब यसैका प्रमुख अफगानिस्तानको गृहमन्त्री बनेका छन् ।२०१७ मा एक ट्रक बम हमलामा १५० जना भन्दा बढीको मृत्यु भएको घटनाको जिम्मेदार पनि हक्कानी नेटवर्क नै थियो । हक्कानी नेटवर्कको सम्बन्ध विगतमा अल कायदा र अहिले आइससँग पनि रहेको बताउने गरिन्छ ।
अमेरिकाले हक्कानी नेटवर्कलाई विदेशी आतंकवादी समुहमा सुचिकृत गरेको छ ।अमेरिकी एफबीआइको फ्रोफाइलमा हक्कानीमाथि १० मिलियन डलरको पुरस्कार पनि राखेको छ । उनी अफगानिस्तान-पाकिस्तान सीमा क्षेत्रबाट सक्रिय रुपमा आफ्नो नेटवर्क चलाएको एफबिआइले उल्लेख गरेको छ ।
प्रतिक्रिया