वृद्धआश्रमको ढोकाबाट प्रणाम टक्राए बा । मेरो ढोग स्वीकार गर्नुहोस् । तपाईँको प्यारो छोराको तर्फबाट । सायद तपाईँलाई आफ्नै छोरा चिन्न गार्हो भए होला । धेरै नै भयो भेट नभएको पनि । सायद एक वर्ष पूरा भए होला हगि । पोहोर यहि कुुशे औँसी कै दिनमा त हो हाम्रो अन्तिम भेट भएको । अनि कसरी ठम्याउन सक्नुहुन्छ त बा मलाई एकै नजरमा । तपाईँको उमेरले पनि सबै कुरा तुरुन्त स्मरण गर्न अब गार्होपर्छ । जे होस् मैले त तपाईँलाई चिनिहाले ।
तथापि मलाई कस्तो टिठ लागेर आयो तपाईँको अवस्था देखेर । उमेर भन्दा दशक बढी बुढो, जीर्ण जस्तो लागेको छ तपार्इँको शारीरिक अवस्था । अधीरमानसिक अवस्था । साँच्चै टिठलाग्दो । कस्तो खान नपाएको स्याल जस्तो देखिनुभएको । यो सब देख्दा मलाई औधी सकस भएको छ बा । मन थाम्न समेत गार्हाे भएको छ बा । आखिर म तपाईँको सन्तान न हुँ। तपाइँले गास काटेर हुर्काएको छोरा न हूँ । बाहिर जस्तो सुकै अवस्था भए पनि हृदयले गल्ती अनुभव गर्न नसक्ने रहेछ ।
बा, म तपाईँको खुसीको प्रमाण हुँ । म जन्मदा तपाईँ खुसीले असाध्यै गदगद हुनु भएको थियो रे हजुरआमाले सधैँ सम्झिइरहनुहुन्थ्यो । आज म तपाइँको उत्तराधिकारी हु । तपाइँको सम्पत्तिको हकदार । त्यसैले त तपाईँ स्वयम्लाई संरक्षण गर्न नसके पनि सम्पत्तिको राम्रै हेरबिचार गरेको छु । सारा सम्पत्ति मेरो नाममा भएको छ अहिले । पैतृक सम्पत्तिमा एकाधिकार जमाएको छु । आज यो श्री सम्पत्ति तपाईँले चाहे पनि आफ्नो बनाउन सक्नुहुँदैन । तपाईँको उत्तराधीकारी नभएको भए सायद यो सबै सम्पत्ति तपाईँकै नाममा हुन्थ्यो होला । अनि सम्पत्ति हडप्ने आशमा भए पनि विभिन्नबहानामा आसेपासे धाउथे होला । खुट्टामा तेल घसेझैँ गर्थै होला । मालिस गर्थेँ होला । तर म त तपाईँको सेवा गर्न नसक्दा पनि कानुनी रुपमा सम्पत्तिको हकदार थिए र छु ।
तपाईँलाई आज वृद्धआश्रममा राखेर भएपनि तपाईँको सम्पत्तिको रक्षा गरेकै छु । उतिबेला तपाईँलाई पाल्ने वाचा गरेर मैले सम्पत्ति मेरो नाममा पास गरी लिएँ। सबैका अगाडि नैतिकताको प्रश्न उब्जेको कारण तपाईँलाई पाल्न पनि खोजेँ। तथापि त्यो दिर्घकालिन हुन सकेन । किनकि म तपाईँले कल्पना गरेभन्दा धेरै ठूलो मान्छे बने । र पनि व्यस्तताका बीच आज कमसेकम वर्षमा एक दिन यहाँसम्म आउन सकेको छु ।
बाआमाहरुले जन्म नदिएको, नहुर्काएको भए आज म पनि यो अवस्थामा पुग्ने थिइन् । बा, तपाईँले हिजो मलाई खुवाउन, हुर्काउन कठीन दिनहरु काट्नुभयो ।आँफू भोकै बसेर मलाई खुवाउनु भो । मलाई राम्रो मानिस बनाउन धेरै कष्ट गर्नु भयो । र म आज तपाईँलाई समय दिनै नसक्ने ठुलो पदमा पुगेको छु । तपाईँ चढ्नै नसक्ने अग्लो वंगलामा बस्न पाएको छु । तपाईलाईँ घरमा लगेपनि तलमाथि गर्न सक्नुहुन्न । त्यो भन्दा बरु थोत्रै टिनमुनी भए पनि यहीँ ठिक । त्यसैगरी आजको दिनमा तपाईँले थन्क्याउनै नसक्ने सम्पत्तिको भारि थोपरेको छु । बैंक व्यालेन्स, घर, घडेरी, शेयर जहाँतहीँ सम्पत्ति नै सम्पत्ति । यि सबै स्याहार्दा आज बालाई स्याहार्न नसक्ने भएको छु ।
बालाई म असाध्यै माया गर्छु । त्यसैले त कम्तिमा पनि प्रत्येक वर्ष यहाँ आएर सम्मान गरेको छु । मिठाई, बस्त्र ल्याइदिएको छु । दुःख, सुखका कुरा बिसाएको छु । खासमा म अलिक बिजि भएर मात्र नत्र महिनाको एक पटक आएर भेट्थे होला । तपाईहरुको सेवा गर्थे होला । के गर्ने फुर्सद नै छैन । तथापि धन्न कुुशे औँशीका दिने मुख हेर्ने चलन रहेकाले कुनै पनि हालतमा यहाँ पदार्पण गरेको छु । ३६४ दिन नभए पनि एक दिन आफूलाई जन्माउने व्यक्तिको सम्मानमा बिताउन पाएको छु । कहिल्यै नसम्झनु भन्दा एक दिन भए पनि सम्झनु राम्रै पक्ष हो नि बा । हैन र ? जन्मदाता बा र आमालाई पनि आदर गर्नुपर्छ भन्ने सिद्धान्तमा अडिग छु म । केवल व्यवहारमा उतार्न मात्र नसकेको हो।
म आज यस वृद्ध आश्रमलाई धन्यवाद दिन चाहन्छु । किनकि बृद्धघर छ र न मैले बाआमाको भेटघाट गर्ने अबसर पाएको छु । आफ्नै छानामुनि नभए पनि सार्वजनिक आश्रममा भेट्ने अवसर मिलेको छ । जीवन काट्न आनन्द नभए पनि सहज भएको छ । आमा पनि यही तपाईसँग रहनु भएको छ । तथापि एउटै कोठामा हैन । छुटै कोठामा । किनकि यहाँ पुरुष र महिला सँगै बस्न मनाही छ । म यो बृद्ध आवासका लागि आज केही रकम दान गर्दैछु ।
सायद त्यहीँ रकमले भएपनि तपाईँले लाएको गुण तिर्न खोजिरहेको छु । समाज सेवामा लागेको मानिस न हुँ म । समाजका हरेक काममा व्यस्त छु । मेरो कर्म र धर्म नै मानव सेवा हो । त्यसैले त घरका बाआमाको सेवा गर्न सकेको छैन । यसमा बाले दुःख मन नगर्नुहोला । छोराको महान कामका लागि आशिर्वाद दिनु होला । समुन्द्रकै पानीमा होमीएको मलाई थोपामा सिमित हुन आग्रह नगर्नुहोला । यसैमा गर्व गर्नु होला ।
बा, तपाईँको पाउ समाउन नपाए पनि समाजका धेरैको पाउ समाएको छु । समाजका मानिसले मेरो कामको प्रशंसा गरिरहेका छन् । समाजमा म सम्मानित भइरहने मौका पाएको छ । सायद बाले कहिलेकाहीँ रेडियो वा टिभिमा मेरो बारेमा सुन्नु भए होला नि । धेरै संघ सस्थाहरुले मलाई सम्मान गरेकै छन् । तन, मन, धन नै समाजका लागि दिएको छु । त्यो देख्दा बाको नाक पनि फुले होला । आशा छ समाज सेवा गर्दागर्दै म एक दिन यहाँको राजनीतिको केन्द्रमा हुने छु । नेता बन्ने छु । सांसद, मन्त्री बन्ने छु । कारलाई पजेरो त घरलाई बंगलोमा परिणत गर्नेछु । ति साधनहरु बाले उपयोग गर्न नपाए पनि छोराको प्रगतिका खातिर खुसिले गदगद हुनुहुनेछ।
अन्त्यमा बालाई म यो वाचा गर्न चाहन्छु कि तपाईँको मृत शरिरलाई नेपालकै प्रसिद्ध धार्मीक स्थलको घाटमा सेलाउने छु । जब तपाईँ परमात्मामा लीन हुनुहुनेछ तब समाजले देख्नेछ मेरो पोजिसन । त्यसबेला बालाई सबैले चिन्नेछन् । मलामिका लस्कर देखि तेह्र दिन सम्मका कार्यक्रमहरु अति भयंकर हुनेछन् । सबैले कस्को बा मरेको भनेर प्रश्न गर्नेछन् । आफ्नो जीवनभर मैले तपाईँलाई सेवा गर्न नपाए पनि मृत्यु पश्चात् भने सबैको ध्यान तान्ने गरी सेवा टक्राउने छु ।
त्यस कार्यक्रमको माध्यामले पनि म समाजमा पैशावाल, धनी छु भन्ने पहिचान मिल्नेछ । अब मैले गर्न सक्ने त्यही नै हो बा । जसबाट मृत्युपश्चात भएपनि तपाईँको चिनारी फैलने छ र मेरो सामाजिक प्रतिष्ठा उचो हुनेछ ।त्यतिमात्र हैन प्रत्येक वर्ष बालाई कागवेनी, गोकर्णेस्वर महादेव आदि आदिमा पुगेर श्राद्ध, तर्पण दिई सम्झना गर्नेछु । जिउदो रहदा सेवा गर्न नसके पनि मृत्यू पश्चात बालाई सम्झने छु ।सबै बाहरुमा २०७८ सालको कुशे औँशीको हार्दिक शुभकामना ।
प्रतिक्रिया