भाद्र ९,
ग्लोबल आवाज
बुटवल । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का उपाध्यक्ष नविन रोका मगरले कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले जारी गरेको परीक्षाको विज्ञापन सच्याउन माग गरेका छन् । राज्य व्यवस्था समितिले निर्णय सच्याउनका लागि पत्रचार तथा निर्देशन गरीसकेको अवस्था पनि सरकार तथा लोक सोवा आयोगले अटेरी गर्नु संविधानको बर्खिलाप भएको बताउँदै उनले आरक्षण बचाउ अभियानको आन्दोलन जारी रहेको बताए ।
सोमबार बुटवलमा पत्रकारहरुसँगको भेटघाटमा बोल्दै उनले लोक सेवा आयोगको विज्ञापन प्रकाशन असंवैधानिक भएको दाबी गरे । ‘यो कुनै जाती, वर्गसँग नभएर संविधानसँग जोडिएको विषय हो, नेपाली जनतासँग जोडिएको विषय हो’-उनले भने । संविधानमा उल्लेख भएअनुसार समावेशी विज्ञापन प्रकाशन हुनुपर्ने भन्दै उनले लोक सेवा आयोग तथा राजनीतिक दलहरुलाई संविधानप्रति इमान्दार भईदिन आग्रह गरे । लोकसेवा आयोगले जारी गरेको विज्ञापन नसच्याउँदासम्म आफूहरुको आन्दोलन जारी रहँने कुरा स्पष्ट पारे ।
‘यो विषयमा संसदमा मुख्य विषयको रुपमा छलफल हुनुपर्ने, संसद अवरुद्ध हुनुपर्ने ।’-उनले अघि भने ‘संसद भित्र र बाहीरका शक्तिहरु समेत चुपचाप बस्दा शंका उत्पन्न भएको छ ।’ प्रमुख एजेण्डा बन्नु पर्ने विषयमा संविधान मान्ने शक्तिहरु समेत चुपचाप बसेको देख्दा आश्चार्य लागेको उल्लेख गर्दै रोका मगरले प्रश्न गरे-‘ कतै हिजोकै श्रीपेँचधारी शक्ति व्युताउन खोजेको त होइन ?’ राजाबादी शक्तिहरु सलबलाई रहेको कुरा बताउँदै उनले दलहरु संविधानको बर्खिलाप गए हिजोकै अवस्था आउन सक्नेतर्फ सचेत गराए । कार्यक्रम आदिवासी जनजाति महासंघ प्रदेश ५ संयोजक दिपक गुरुङको अध्यक्षता तथा सचिव मनोज रानाको सञ्चालनमा भएको थियो ।
प्रतिक्रिया